तेहरान- इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे छ।
सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ।
घटनामा ५३ जना घाइते भएको बताइएको छ। आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुने बताइएको छ।
इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको आरोप लगाएका छन्। सरकारले आतङ्कवादी समूहले गोली चलाएको दावी गरेपनि शनिबार अपरान्ह्सम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन।
प्रकाशित: ६ आश्विन २०७५ १३:५१ शनिबार