१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

नयाँ दिल्ली - आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ। जबजब भारुको मूल्य घट्दै जान्छ तबतब देशको प्रतिष्ठा पनि घट्दै जान्छ।’ अगस्त २०१३ मा डलरको भाउ बढेर १ डलर बराबर ६९ भारु हुँदा कड्किएकी स्वराजलाई तत्कालीन अर्थमन्त्री पि चिदाम्बरमले शान्त पार्न सकेनन्। उनी प्रधानमन्त्री मनमोहन सिंहसँग स्पष्टीकरण माग गरिरहेकी थिइन्।

गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको भनाइ थियो, ‘भारुको मूल्य घटिरहेको देख्दा के लाग्छ भने दिल्ली सरकार र भारुबीच को पहिला हुने प्रतिस्पर्धा चलिरहेको छ । जब देश स्वतन्त्र भएको थियो त्यो बेला एक रुपैयाँ बराबर एक डलर थियो । जब अटलजीले सरकार बनाए त्यो बेला एक डलर बराबर ४२ भारु थियो । अटलजीले छोड्ने बेला एक डलर बराबर ४४ भारु थियो । तर यो सरकार र अर्थशास्त्री प्रधानमन्त्रीको कार्यकालमा त एक डलर बराबर ६० भारु नै पुग्यो।’

१ डलर बराबर ६१ भारु हुँदा लोकसभामा कड्किएकी सुष्मा स्वराज र गुजरातको मुख्यमन्त्री हुँदा अर्थशास्त्री प्रधानमन्त्री भन्दै मनमोहन सिंहको आलोचना गरेका मोदी अहिले भारुको मूल्य ऐतिहासिक रुपमा न्यून हुँदा पनि चुपचाप छन्।

पाँच वर्षअघि मोदी गुजरातको मुख्यमन्त्री थिए । त्यो बेलादेखि अहिलेसम्म भारतको सत्तामा धेरैकुरा फेरबदल भइसकेको छ । आर्थिक अवस्थामा पनि धेरै तलमाथि भइसकेको छ तर भारु घट्दा मनमोहन सिंहका सरकारलाई घेर्ने यी नेता हालका दिनमा रुपैयाँमा आएको गिरावट बारे मौनता छन्।

जब मोदी सरकारले कार्यकाल थाल्यो त्यो बेला भारुको मूल्य एक डलर बराबर ६० को आसपास थियो । त्यसपछिका दिनमा भारु डलरको कमबेसी दबाबमै रहिआएको छ । पछिल्लो केही महिना यो दबाब यस्तरी बढेको छ कि विगत १५ महिनामा भारु कमजोर हुन पुगेको छ । गत एक महिनामा डलरको तुलनामा भारुमा २ रुपैयाँ २९ पैसाले गिरावट आयो।

बिहीबार भारुको मूल्य अहिलेसम्मकै न्यून स्थानमा रहँदा एक डलर बराबर ६९.०९ भारु हुन पुगेको छ । पहिलो पटक डलरको भाउ ६९ रुपैयाँभन्दा अधिक भएको छ।

त्यसो त भारुको अहिलेसम्मकै न्यून मापन पनि मोदीकै कार्यकालमा भएको छ । सन् २०१६ को नोभेम्बरमा एक डलर बराबर ६८.८० भारु भएको थियो । तर डलरले सधैं भारुलाई थिच्छ भन्ने पनि होइन । यस वर्ष मलेसियाली रिंगेट, थाइ भाटलगायत कयौं एसियायी मुलुकका मुद्रा कमजोर हुन पुगेका थिए।

भारुको कथा
एउटा यस्तो जमाना थियो जब भारुले डलरलाई कडा टक्कर दिने गरेको थियो । सन्१९४७ मा भारत स्वतन्त्र हुँदा डलर र भारुको मूल्य समान थियो । अर्थात, एक भारु बराबर एक डलर । त्यो बेला भारतको कुनै राष्ट्रिय ऋण पनि थिएन । तर जब सन् १९५१ पहिलो पटक पञ्चवर्षीय योजना लागू भयो अनि भारतले विदेशी ऋण लिन सुरु ग¥यो । त्यसपछि लगातार भारुको साख घट्न थाल्यो।

सन् १९७५ सम्म आउँदा त एक डलर बराबर ८ भारु भयो र १९८५ मा त एक डलर बराबर १२ भयो । सन् १९९१ मा जब पिभि नरसिंह राव प्रधानमन्त्री भए त्यो बेला लागू गरिएको उदारीकरणको नीतिले त भारुको मूल्यमा राम्रै गिरावट ल्यायो । त्यसको दश वर्षपछि त एक डलर बराबर ४७/४८ भारु भयो।

के हो रुपैयाँको खेल?
भारु र डलरको खेललाई यसरी प्रष्ट्याउन सकिन्छ, यदि एक डलर बराबर ६७ भारु हुँदा भारतले अमेरिकासँग कारोबार गर्दा ६७ हजार भारु र एक हजार अमेरिकी डलर बराबर हुन्छ।

अमेरिकाबाट ६ हजार ७ सय रुपैयाँ पर्ने समान झिकाउँदा एक सय डलर भुक्तानी गर्नुपर्ने हुन्छ।

अब भारतको डलर भण्डारणमा ९ सय डलर बाँकी रह्यो भने अमेरिकमा ७३ हजार ७ सय रुपैयाँ हुनपुग्छ । यस हिसाबले अमेरिकाको विदेशी मुद्रा भण्डारणमा भारतको जुन ६ हजार ७ सय रुपैयाँ थियो त्यो त थपिने नै भयो, भारतसँग भएको एक सय डलर पनि अमेरिका नै पुग्ने भयो।

यस्तो स्थितिमा भारतको सन्तुलन तब मात्र ठीक हुन्छ यदि भारत अमेरिकालाई एक सय डलरको समान बेच्न सफल हुन्छ भने । जुन हाल भइरहेको छैन । अर्थात भारतले आयात बढी र निर्यात कम गरिरहेको अवस्था छ।

मुद्रा विशेषज्ञ एस सुव्रमण्यम भन्छन् यस्तो अवस्थामा भारतीय रिजर्ब बैंक (केन्द्रीय बैंक)ले आफ्नो भण्डारमा भएको डलर तथा विदेशबाट खरिद गरेको डलर बजारमा आपूर्ति गर्छ।

रुपैयाँको मूल्य कसरी तय गरिन्छ?
सुव्रमण्यम भन्छन् रुपैयाँको मूल्य माग तथा आपूर्तिको सिद्धान्तमै निर्भर गर्छ । साथै आयात निर्यातको प्रभाव नपर्ने पनि होइन । सबै देशले विदेशी मुद्रा भण्डार गरेका हुन्छन् र कारोबारको क्रममा सो मुद्रा लेनदेन हुन्छ । डलर अन्तर्राष्ट्रिय कारोबारमा प्रायः प्रयोग हुने मुद्रा हो र धेरैजसो राष्ट्र आयातको भुक्तानी डलरमार्फत नै गर्छन्।

रुपैयाँ किन कमजोर?
डलरअघि हालको माहोलमा रुपैयाँको नटिक्नुको कारण समयअनुसार फेरिइरहन्छ । कहिले यो आर्थिक अवस्थाको सिकार बन्छ भने कहिले अन्य त कहिले धेरै।

दिल्लीस्थित एक ब्रोकर फर्मका अनुसन्धान प्रमुख आसिफ इकबाल के ठान्छन् भने मौजूदा अवस्थामा रुपैयाँ कमजोर हुनुको खास कुनै कारण देखिँदैन।

पहिलो कारण हो तेलको बढ्दो मूल्य । कच्चा तेलको भाउ बढ्नु नै भारुको गिरावटको एउटा ठूलो कारण हो । भारत कच्चा आयात गर्ने एक प्रमुख राष्ट्र हो । आयातित तेलको भुक्तानी भारतले अमेरिकी डलरमा गर्ने गरेको छ।

भारु घट्दा के हुन्छ?
मुख्य सवाल के हो भने डलरको तुलनामा भारुको मुद्रा यसरी नै घटिरहने हो भने के असर पर्छ त ? मुद्रा विज्ञ सुव्रमण्यमका अनुसार यो परिदृश्यको सबैभन्दा ठूलो असर के हुन्छ भने महंगी बढ्छ । कच्चा तेलको आयातले महंगी बढ्छ । तेलको महंगीले अन्ततः खाद्यान्नको मूल्य बढ्छ । त्यसका साथै डलरमा भुक्तानी गर्नु पनि भारी नै हुन्छ । र, विदेश भ्रमण पनि महंगिन्छ भने अन्तर्राष्ट्रिय शिक्षा पनि महंगिने छ।

भारु घट्दा कसलाई फाइदा?
भारु घट्दा भारतमा कसैलाई फाइदा हुन्छन् ? सुव्रमण्यम भन्छन्, ‘पक्कै पनि । कुरा सोझै छ नि । जहाँ केही नोक्सान हुन्छ त्यँहा केही फाइदा पनि हुन्छ । नियार्तकर्ता मालामाला हुन्छन् । उनीहरुले डलरमा भुक्तानी पाउँनेछन् । त्यो डलरलाई भारुमा साटेर उनीहरुले फाइदा उठाउनेछन्।’

यस बाहेक जो आइटी र फार्मा कम्पनी जसले आफ्नो समान विदेशमा निर्यात गर्छन् तिनलाई पनि फाइदा हुनेछ। (बिबिसी)

प्रकाशित: २८ भाद्र २०७५ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App