१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

केरला बाढी : मृत्यु हुनेको संख्या ३५७ पुग्यो

बाढीका कारण जलमग्न भारतीय राज्य केरलाको उत्तरी भाग कोची। तस्बिर : एजेन्सी

थिस्सुर – दक्षिणपश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या तीन सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरुले बताएका छन्। बाढीका कारण  हजारौं नागरिक विस्थापित भएका छन्। बाढी तथा पहिरोमा परी बेपत्ता नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागिरहेको बताइएको छ। केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ। अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक संख्यामा वृद्धि हुने देखिएको उद्धारमा संलग्न अधिकारीले जनाएका छन्। अधिकारीहरुका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीमा परी संकटमा रहेका वस्तीहरुलाई राखेकाले बाढीका कारण भएका  क्षतिको विस्तृत विवरण आउन सकेको छैन।

केरलाका सहरी तथा ग्रामीण इलाकामा रहेका वस्तीमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ। मौसमसम्बन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरुले आगामी दिनमा अझै बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन्। ‘गत साता परेको बर्षासँगै आएको बाढीका कारण डुबानको समस्या आएको र विद्युत्, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ,’ बाढी प्रभावित क्षेत्रका भारतीय एक इन्द्रजीत कुमारलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उनले बताए। मे महिनामा मनसुन सुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको संख्या तीन सय ५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे। उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ।

‘थिस्सुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका प्राय व्यक्ति मृत अवस्थामा फेला परेका छन्,’ उनले बताए। केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउँमा उद्धार गरिरहेका असरफ अलि के एमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७५ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App