३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२४ वर्षपछि अफ्रिकी मिसनमा क्यानेडेली सेना

  गाओ– उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानेडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो।

 दुई जना तोपधारी सैनिक माथिबाटै जमीनको स्थिति नियालीरहेका छन् । यसैबीच पाइलटले घोषणा गर्दछन्, ‘लौ बर्बाद भयो । एउटा इन्जिनले काम गरेन । अब एउटा इन्जिनको भरमा उड्नु पर्छ ।’ अफ्रिकामा २४ वर्षपछि क्यानडाले पहिलो शान्ति सैनिक पठाएसँगै उनीहरुले द्वन्द्व र मौसमका बारेमा प्रत्यक्ष बुझ्न थालेका छन्।

सायद, यस्तो परिस्थितिको उनीहरुले विगतमा कहिल्यै सामना गर्नु परेको थिएन । उनीहरु संयुक्त राष्ट्रसंघको सर्वाधिक कठिन र खतरनाक मिसनमा सहभागी भएका छन् । मालीमा हाल राष्ट्रसंघ मातहत १४ हजार सैनिक परिचालित छन् । पश्चिम अफ्रिकी मुलुक माली व्यापक बन्जर साहेल क्षेत्रमा अवस्थित छ । उत्तरी मालीमा उडान भर्नु दुरुह आर्टिक क्षेत्रमा कार्य गर्नु जस्तै हो ।

गाओमा तैनाथ क्यानाडेली हवाई सेनाका कमान्डर लेफ्टिनेन्ट कर्णेल क्रिस मोरिसनले भने, ‘यहाँ आर्टिकको हिउँको ठाउँमा बालुवा छ र त्यहाँ माइनस ४० डिग्री छ, यहाँ ४० डिग्रीको प्रचण्ड गर्मी छ ।’ ‘सहारामा अति डरलाग्दो परिस्थितिमा हवाई उडान गर्नु पर्दछ, मर्मत गर्न वा तेल भर्न जमीनमा ठाउँ नै भेट्न मुश्किल छ,’ उनले बताए । उनीसँग यसअघि बोस्निया र अफ्गानिस्तानमा काम गरेको अनुभव पनि छ । क्यानडाले सन् १९५० को दशकमा राष्ट्रसंघ मातहत ठूलैस्तरमा शान्ति सेना गठन गर्नुपर्नेमा वकालत गरेको थियो, तर शान्ति सैनिकले लगाउने ‘निलो हेल्मेट’ लगाएका सेना एक दशकयता ठूलो संख्यामा कतै पनि पठाएको छैन । तथापि, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शान्ति अभियानमा पुनःसहभागी हुने इच्छा देखाएका छन् ।

सन् २०२१ मा राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य हुनका लागि पनि प्रधानमन्त्री जस्टिनले शान्ति अभियानमा सहभागी हुनेतर्फ कदम चालेको हुनसक्ने अनुमान गरिएको छ । सन् १९९४ को रुवान्डाको जातीय नरसंहार यता अफ्रिकामा क्यानडाको यो पहिलो मिसन हो । त्यसबखत राष्ट्रसंघीय मिसनको नेतृत्व क्यानडाले नै गरेको थियो । गत महिनादेखि छ वटा हेलिकप्टरसहित दुई सय ५० जना सैनिक माली आइपुगेका हुन् । उनीहरुले यसअघि जर्मन सैनिकले गरिरहेको स्वास्थ्य उद्धारकार्य गर्नेछन् । उनीहरुलाई गाओको क्यास्टोर क्याम्पमा राखिएको छ जहाँ नौ सय जर्मन र सय नेदरल्यान्ड्सका सैनिक तैनाथ छन् ।

त्यहीं नजिक, राष्ट्रसंघको अर्को क्याम्पमा गैर–नेटो मुलुकका अरु चार हजार सैनिक तैनाथ छन् । मालीमा रहेको मानुस्मालाई अहिले राष्ट्रसंघको सर्वाधिक खतरनाक शान्ति अभियानका रूपमा लिइएको छ । सन् २०१३ मा यो अभियान तैनाथ गरेयता एक सय ७० जनाभन्दा बढी सैनिक मारिइसकेका छन् र यो संख्या विश्वभर शान्ति सैनिक मारिएकामध्ये आधाभन्दा बढी हो । अलकायदासँग निकट रहेका इस्लामिक लडाकुहरुले सन् २०१२ देखि उत्तरी मालीको मरुभूमिमा नियन्त्रण गरिरहेका थिए, तर जनवरी २०१३ मा आरम्भ गरिएको फ्रान्सेली नेतृत्वको सैनिक अपरेसनले उनीहरुलाई त्यहाँबाट तितरबितर पारेको दाबी गरिएको छ । तर, मुलुकको ठूलो हिस्सा अझै पनि माली, फ्रेन्च र राष्ट्रसंघीय सैनिकको नियन्त्रणभन्दा बाहिर छ र उनीहरुले बारम्बार आक्रमण गरिरहेका छन् ।

 ‘हामी राष्ट्रसंघलाई मद्दत गर्न चाहन्छौं, तर यो अति कठिन अभियान हो,’ मालीमा तैनाथ क्यानेडेली सेनाका कमान्डर क्रिस म्याकेन्नाले बताए । ‘यो निकै जटिल पनि छ । यहाँको वातावरण कठोर छ, धुलो र प्रचण्ड गर्मी छ । तैपनि, हामीले रामै्रसँग काम गरिरहेका छौं,’ म्याकेन्नालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । क्यानडाले राष्ट्रसंघीय मिसनमा आफूलाई पुनःसमाहित गरेकामा मालीमा तैनाथ सैनिकले खुशी व्यक्त गरेका छन् । ‘मिसनमा पुनःकाम गर्न पाउँदा खुशी लागेको छ । हामी यहाँ मानिसको जीवन बचाउन आएका हौं,’ हेलिकप्टरका पाइलट डोमिनिक सिमार्डले बताए । क्यानेडेली सैनिकहरुले हवाई सेवा मात्र उपलब्ध गराउनेछन् । उनीहरुलाई पैदल लडाईंमा भने खटाइने छैन ।

 

प्रकाशित: २४ श्रावण २०७५ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App