१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

दोहा – संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशले कतारमाथि करिब एक वर्षअघि लगाएको आर्थिक प्रतिबन्धको वर्षगाँठ पारेर कतारले ती देशबाट आउने सामानमा प्रतिबन्ध लगाएको बताइएको छ। गत वर्ष युएईलगायतका देशले कतारले आतंकवादलाई सहयोग गरिरहेको भन्दै दोहाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएका थिए।

‘कतारमाथि नाकाबन्दी लगाइरहेका राष्ट्रबाट उत्पादन हुने सामान गल्प कोअपरेसन काउन्सिल कस्टम टेरिटोरीबाट पास हुन नसक्ने र ती सामानमा राम्रोसँग भन्सार प्रक्रिया पु-याउनुपर्ने र आयात निरीक्षण गर्नुपर्ने छ,’ आइतबार अबेर कतार सरकारले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

छिमेकी चार राष्ट्रको नाकाबन्दीका कारण पहिलो केही सातामा कतारले गर्ने आयातमा ४० प्रतिशत कमी आए पनि केही समयपछि दोहाले टर्कीलगायतका नयाँ गन्तव्य फेला पारेको थियो।

‘कतारमा रहेका उपभोक्ताको सुरक्षाको संरक्षण गर्न र सामानको अनुचित वेचविखनसँग लड्न सरकारले नयाँ समान आयात गर्नका लागि नयाँ निर्देशिका जारी गरेको छ,’ विज्ञप्तिमा जनाइएको छ।

कतारको अर्थतन्त्र तथा वाणिज्य मन्त्रालयले देशका सम्पूर्ण व्यापारी र पसललाई ती चार देशबाट सामान आयात बन्द गर्नुपर्ने भन्दै सर्कुलर जारी गरेको राष्ट्रिय पत्रिका ‘अल वाटन’ले जनाएको छ। सरकारको नयाँ नीति कडाइका साथ लागू गराउन देशका व्यापारी र पसलेलाई सरकारी निरीक्षकले निरीक्षण गर्नेसमेत उक्त पत्रिकालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

साउदी अरबलगायतका चार देशले कतारले आतंकवादलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै गत जुनमा दोहासँगको कूटनीतिक र यातायात सम्बन्ध अन्त्य गरेका थिए। त्यसअघि कतारले युएईबाट ठूलो मात्रामा जहाजमार्फत् सामान आयात गर्ने गरेको थियो भने साउदीको सीमा हुँदै कैयौं ताजा खानेकुरा ल्याउने गरेको थियो। छिमेकी राष्ट्रले आतंकवादीलाई सहयोग गरेको आरोप लगाए पनि कतारले भने उक्त आरोपलाई अस्वीकार गर्दै आइरहेको छ। छिमेकी चार राष्ट्रको नाकाबन्दीका कारण पहिलो केही सातामा नै कतारले गर्ने आयातमा ४० प्रतिशत कमी आए पनि केही समयपछि दोहाले टर्कीलगायतका नयाँ गन्तव्य फेला पारेको थियो। जसका कारण कतारको व्यापार सामान्य रूपमा नै सञ्चालन भइरहेको बताइन्छ। यसबीचमा कतारले ओमानसँग नयाँ सामुद्रिक रुटको विकास गरेको छ।

छिमेकीले नाकाबन्दी गरिसकेपछि उसले खाद्यान्नसहित कतिपय साम्रगी स्वदेशमा नै उत्पादन गर्न सुरुसमेत गरिसकेको रोयटर्सले जनाएको छ। जुन महिनामा कतारविरुद्ध नाकाबन्दी लगाएका साउदी अरबलगायतका देशका केही खाद्यवस्तु र अन्य साम्रगी तेस्रो राष्ट्र हुँदै कतारसम्म पुगिरहेका छन्। छिमेकी राष्ट्रका सामानमा प्रतिबन्ध लगाउने घोषणा गरेको जानकारी दिए पनि यस विषयमा थप बोल्न भने कतार सरकारका प्रवक्ताले नमानेको रोयटर्सले जनाएको छ । यद्यपी उनले देशमा आउने सम्पूर्ण सामानको राम्रोसँग आयात निरीक्षण प्रक्रियामार्फत् आउनुपर्नेमा जोड भने दिएका छन्।

सरकारको नयाँ कदमका कारण देशमा साम्रगीको मूल्यमा कस्तो परिवर्तन आउँछ भन्नेबारे पनि सरकारका प्रवक्ताले केही नबताएको रोयटर्सले जनाएको छ। साथै, नयाँ प्रतिबन्धमा कतारविरुद्ध नाकाबन्दी लगाइरहेका राष्ट्रले बहुव्यापार गरेका जहाजबाट आएका सामानलाई पनि प्रतिबन्ध गरेको हो वा त्यहाँ उत्पादन भएका सामानलाई मात्रै भन्नेबारे पनि कतार सरकारले केही नबताएको रोयटर्सले जनाएको छ। कतारको पछिल्लो कदमबारे ‘अलसरका अलावसाट’ पत्रिकासँग बोल्दै बहराइनका विदेशमन्त्री सेख खालिद बिन अहमेदले कुनै कूटनीतिक समाधान आफूले नदेखेको बताएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App