९ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत : भवनमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार आगलागी भएको भवनको भुइँतल्लामा घरपालुवा जनावरको पसल सञ्चालनमा थियो भने माथिल्लो तल्लामा गेमिङ जोन तथा बालबालिकाका गतिविधि सञ्चालन हुने स्थान रहेको थियो। आगलागी भएपछि भवनभित्र रहेका बालबालिका प्रभावित भएका थिए।

केजीएमयू ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा अमिया अग्रवाललेका अनुसार २१ देखि २२ जना बालबालिकालाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये १५ जनालाई मृत अवस्थामा अस्पताल ल्याइएको पुष्टि गरिएको छ। पाँच जना घाइतेको उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना भवनबाट हाम फाल्दा घाइते भएका र उनीहरूको ढाडमा चोट लागेको बताइएको छ।

उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन्। उनका अनुसार घटनामा १५ बालबालिकाको मृत्यु भएको छ भने चारदेखि पाँच जना घाइते भएका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही पाँच लाख भारतीय रुपैयाँ तथा गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री कार्यालयले  मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

प्रकाशित: ९ असार २०८३ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App