१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी गुप्तचर रिपोर्ट भन्छ– ‘इरानको आणविक संरचना नष्ट भएको छैन’

म्याक्सार टेक्नोलोजीका स्याटेलाइटले जुन १९ मा फोर्दो साइटमा खिचेका ट्रक र बुल्डोजरको लाइन। तस्बिर: एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेझै अमेरिकी हवाई आक्रमणले इरानका आणविक संरचना पुर्ण रुपमा नष्ट नभएको एक गुप्तचर रिपोर्टले जनाएको छ।

आक्रमणका कारण इरानको आणविक कार्यक्रम केही महिनाले मात्र पछाडि धकेलिएको तर सम्पुर्ण हिसाबले नष्ट नभएको हवाई आक्रमणको प्रारम्भिक मूल्याकनसँग परिचित दुई व्यक्तिले अमेरिकी समाचार संस्था एपीलाई बताएका छन्।

अमेरिकाका डिफेन्स इन्टिलिजेन्स एजेन्सीले इरानका आणविक सुविधाहरूको स्थितिको बारेमा सोमबार जारी गरेको उक्त रिपोर्ट राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सार्वजनिक गरेका बयान भन्दा ठिक बिपरित देखिएका छन्।

यी दुवै नेताले आइतबार भएको हवाई आक्रमणका कारण फोर्दो, नटाञ्ज र इस्फाहान आणविक स्थलमा ठूलो क्षति पुगेको र ती आणविक सुविधाहरू पूर्ण रूपमा ध्वस्त भएको दावी गरेका थिए। तर उक्त एजेन्सीको प्रारम्भिक समिक्षाले यो सही नभएको देखाएको उक्त एजेन्सीसँग आवद्ध दुई अधिकारीले आफ्ना नाम नखुलाउने सर्तमा एपीलाई बताएका हुन्।

आणविक कार्यक्रम पूर्ण रूपमा त्याग्न इरानलाई तयार पार्ने चाहना सहित इरानसँग वार्ता पुनः सुरु गर्ने तयारीमा अमेरिका छ। तर केही विज्ञहरूले पछिल्लो अमेरिकी हमलाको पृष्टभूमिमा इरानले आफ्ना केही क्षमताहरू कायम राख्न सक्ने र अन्तत इरानले सञ्चालनयोग्य आणविक हतियार विकास गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

उक्त गुप्तचर एजेन्सीको उक्त मूल्याकनका अनुसार आणविक हतियार बनाउन आवश्यक पर्ने संवर्धित युरेनियम अमेरिकी हमलाअघि नै अन्यत्र स्थानमा सारिएको थियो। यसैगरी युरेनियमको ग्रेड स्तरोन्नती गर्न आवश्यक पर्ने अधिकास सेन्ट्रीफ्यूजहरू पनि अक्षुण्ण रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

जमिनको भित्री गहिराईमा रहेको फोर्दो युरेनियम संवर्धन प्लान्टलाई लक्षित गरेर अमेरिकाले बी–२ स्टिल्थ विमानवाट ३०,००० पाउन्ड तौलका ‘बंकर–बस्टर’ बमहरू खसालेको थियो।

आक्रमणका कारण प्रवेशद्वार भत्किएको र केही पूर्वाधारमा क्षति भएको तर भूमिगत पूर्वाधार नष्ट नभएको उक्त मूल्याकनले देखाएको छ। अमेरिकाका अन्य गुप्तचर अधिकारीले पनि फोर्डोमा हमला गर्नुअघि यस्तो परिणाम आउन सक्ने चेतावनी दिएको ती अधिकारीले बताएका छन्।

उता, ह्वाईट हाउसले डिफेन्स इन्टिलिजेन्स एजेन्सीको उक्त प्रतिवेदनको खण्डन गर्दै उक्त दावी ‘पूर्ण रूपमा गलत’ भनेको छ।

‘उक्त कथित मूल्याङ्कन प्रतिवेदनको चुहावटले राष्ट्रपति ट्रम्पलाई अपमानित गर्ने अभिप्राय बोकेको छ। इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न पूर्ण रूपमा सफल मिशन सञ्चालन गर्ने बहादुर लडाकु पाइलटलाई बदनाम गर्ने यो स्पष्ट प्रयास हो,’ हवाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले एक वक्तव्यमा भनिन्। ‘सबैलाई थाहा छ, जब  ३०,००० पाउन्डका १४ बमहरू निशानामा खसालिन्छ, त्यसले पूर्ण विनास गर्छ,’ उनले भनेकि छिन्।

अमेरिकी गुप्तचर निकाय सिआइए र नेशनल इन्टिलिजेन्स कार्यालयले यो बिषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। नेशनल इन्टिलिजेन्स कार्यालयले अमेरिकाका १८ गुप्तचर एजेन्सीको कामको समन्वय गर्दछ, जसमा डिफेन्स इन्टिलिजेन्स एजेन्सी पनि पर्छ। उता, इजरायली सरकारले पनि अमेरिकी हमलाको कुनै आधिकारिक मूल्याकन सार्वजनिक गरेको छैन।

ट्रम्पका विशेष दूत स्टिभ विटकपले अमेरिकी गुप्तचर सस्थाको मूल्याकन पत्रकारहरूसँग साझा गरिनु आपत्तिजनक बताएका छन्। ‘यो देशद्रोह हो, यसको अनुसन्धान गरिनुपर्छ,’ विटकफले फक्स न्यूज च्यानलमा भनेका छन्।

उक्त गुप्तचर मूल्याकन प्रतिवेदनका बारेमा टेलिभिजन च्यानल सिएनएनले मंगलबार पहिलो पटक सार्वजनिक गरेको थियो।

अमेरिकी स्याटेलाइट इमेजरी र विश्लेषण फर्म म्याक्सार टेक्नोलोजीका स्याटेलाइटहरूले अमेरिकी हमला हुनुभन्दा तीन दिन अघि अर्थात जुन १९ मा फोर्दो साइटमा ट्रक र बुल्डोजरहरूको फोटो खिचेको जनाएको छ। ‘यो सम्भव छ कि इरानले ६० प्रतिशत संवर्धित सामग्री फोर्डोबाट बाहिर सारेको छ,’ पूर्व अमेरिकी गुप्तचर विश्लेषक एरिक ब्रेवरले एपीलाई भने।

प्रकाशित: ११ असार २०८२ २०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App