अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा सफल हवाई हमला गरेको र ती स्थलहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको घोषणा गरेका छन्।
हमलाको योजनामा अमेरिकासँग ‘पूर्ण समन्वय’ रहेको इजरायलले जनाएको छ। इरानी अधिकारीहरूले आफ्ना केन्द्रहरूमा हमला भएको पुष्टि गरे पनि ठूलो क्षति भएको कुरालाई अस्वीकार गरेका छन्।
अमेरिकी जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनका अनुसार ‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिइएको यस हमलामा सातवटा B-2 स्टिल्थ बमरसहित १२५ अमेरिकी सैन्य विमान सामेल थिए।
निशाना बनाइएका तीन स्थलमध्ये तेहरान नजिकै पहाडभित्र लुकाइएको युरेनियम प्रशोधन केन्द्र फोर्डो पनि एक हो। जुन इरानको परमाणु कार्यक्रमका लागि महत्वपूर्ण मानिन्छ। यसका साथै नतान्ज र इस्फाहानका परमाणु केन्द्रलाई पनि निशाना बनाइएको थियो।
जनरल केनले फोर्डो जस्ता जमिनमुनि गहिराइमा रहेका संरचना ध्वस्त पार्न १३,००० किलोग्राम तौलको ‘बंकर बस्टर’ बम प्रयोग गरिएको पुष्टि गरे। उनका अनुसार आक्रमणमा ७५ वटा अत्याधुनिक हतियार प्रयोग गरिएको थियो।
जनरल केनले प्रारम्भिक मूल्यांकनमा तीनवटै केन्द्रमा “अत्यन्तै गम्भीर क्षति र विनाश” पुगेको बताएका छन्। यद्यपि, साउदी अरेबिया र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले हमलापछि विकिरणको स्तरमा कुनै वृद्धि नदेखिएको जनाएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानले ती परमाणु केन्द्रहरू “केही समयअघि नै” खाली गरिसकेकोले ठूलो क्षति नभएको दाबी गरेको छ।
मेरिकी हमलाको केही घण्टाभित्रै इरानले तेल अविव र हाइफाका केही भागमा मिसाइल प्रहार गरेको छ। हमलामा कम्तीमा ८६ जना घाइते भएका छन्। इरानका विदेशमन्त्री अब्बास अराकचीले हमलाको निन्दा गर्दै बदला लिने अधिकार सुरक्षित रहेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत हमलाको पुष्टि गर्दै इरानले कूटनीतिक समाधान नखोजे भविष्यमा अझ ठूला हमला हुने चेतावनी दिएका छन्।
अमेरिकाभित्रै उनको कदमबारे मिश्रित प्रतिक्रिया आएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले प्रशंसा गरे पनि सांसद मार्जोरी टेलर ग्रीनले ‘यो हाम्रो लडाइँ होइन’ भनेकी छन्।
डेमोक्र्याटिक नेता हकिम जेफ्रिजले अमेरिकालाई विनाशकारी युद्धमा फसाउने जोखिम बढेको बताएका छन् भने सिनेटर बर्नी स्यान्डर्सले संसदको अनुमतिबिना गरिएको हमलालाई ‘घोर असंवैधानिक’ भनेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा बेलायतका प्रधानमन्त्री कियर स्टारमरले यसलाई “गम्भीर खतरा” टार्न चालिएको कदम भनेका छन् भने संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, भारत, साउदी अरेबिया र ओमानले चिन्ता व्यक्त गर्दै वार्तामा जोड दिएका छन्। रुसले भने व्यंग्यात्मक टिप्पणी गरेको छ।
तनावको सुरुवात जुन १३ मा इजरायलले इरानका दर्जनौं परमाणु र सैन्य केन्द्रमाथि अप्रत्याशित हमला गरेपछि भएको थियो।
इजरायलले इरानको परमाणु कार्यक्रम ध्वस्त पार्ने उद्देश्य राखेको बताएको थियो भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
त्यसयता दुई देशबीच एक हप्ताभन्दा बढी समयदेखि हवाई हमला जारी छ।
प्रकाशित: ८ असार २०८२ १९:५८ आइतबार