२५ असार २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तानको उदाहरण दिँदै ट्रम्प: इरान-इजरायलको सम्झौता गराउन सक्छु, श्रेय पाउँदिन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल बीच शान्ति सम्झौता गराउन सक्ने दाबी गरेका छन्। उनले आफ्नो ट्रुथ सोशलमा इरान र इजरायल बीच सम्झौता गराउन सक्ने बताएका हुन्।

उनले लेखे, ‘जसरी मैले भारत र पाकिस्तान बीच सम्झौता गराएँ, त्यसरी नै म यी दुईबीच पनि सम्झौता गराउन सक्छु।’ ट्रम्पले थपे, ‘मैले भारत र पाकिस्तानको मुद्दामा दुई नेताहरू बीचको संवादमा तर्क, सहमति र विवेक ल्याउन अमेरिकी व्यापारको शक्ति प्रयोग गरें। उनीहरूले छिटो निर्णय गरे, र युद्ध रोके।’

ट्रम्पले पहिले पनि धेरै पटक भारत र पाकिस्तानबीच युद्धविराम गराएको बताएका छन्। भारत र पाकिस्तान बीचको पछिल्लो द्वन्द्वपछि पाकिस्तानले युद्धविरामका लागि अमेरिकालाई धन्यवाद दिएको छ, तर भारतले अहिलेसम्म अमेरिकाको प्रत्यक्ष भूमिकाबारे केही भनेको छैन।

त्यसपछि ट्रम्पले अन्य उदाहरण दिँदै आफूले सर्बिया र कोसोभो तथा इजिप्ट र इथियोपिया बीच तनाव बढ्नबाट रोकेको बताए। उनले लेखे, ‘मेरो पहिलो कार्यकालमा, सर्बिया र कोसोभो बीचको दशकौं लामो तनाव युद्धमा परिणत हुन लागेको थियो। तर मैले त्यसलाई रोकें।’

यसपछि ट्रम्पले इजिप्ट र इथियोपियाको उल्लेख गर्दै नाइल नदीलाई असर गर्ने बाँधको विषयमा दुई बीच विवाद भएको बताए। उनले लेखे, ‘मेरो हस्तक्षेपपछि अहिले त्यहाँ शान्ति छ।’

ट्रम्पले थपे, ‘त्यस्तै, इजरायल र इरान बीच चाँडै शान्ति हुनेछ। धेरै बैठकहरू भइरहेका छन्, फोनमा कुराकानी भइरहेका छन्।’ उनले लेखे, ‘म धेरै गर्छु, तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ, मानिसहरूले त्यो बुझ्छन्।’

प्रकाशित: १ असार २०८२ २१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App