सन् २०२३ मा मेलमिलाप हुनुअघि लामो समयसम्म इरानको प्रतिद्वन्द्वी रहेको साउदी अरबले शुक्रबार इरानका सैन्य र आणविक स्थलमाथि इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ।
यो आक्रमणमा प्रमुख सैन्य कमान्डर र आणविक वैज्ञानिकको मृत्यु भएको छ, जसले क्षेत्रमा ठूलो युद्धको त्रास बढाएको छ। साथै, ओमानमा आइतबार तय भएको अमेरिका–इरान आणविक वार्ता जोखिममा परेको छ।
‘साउदी अरबले इरानमाथिको इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना गर्छ, यो आक्रमणले इरानको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन हो,’ विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ।
यी आक्रमणलाई ‘जघन्य’ भन्दै मन्त्रालयले थप्यो, ‘अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले यो आक्रामकता तत्काल रोक्न जिम्मेवारी लिनुपर्छ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्धको कारबाही ‘जति दिन आवश्यक पर्छ, त्यति दिन चल्ने’ बताएका छन्।
तेलको मूल्य १२ प्रतिशतभन्दा बढीले उकालो लागेपछि तेल समृद्ध खाडी क्षेत्रमा द्वन्द्वको डरले साउदी अरब स्तब्ध भएको छ।
सन् २०२३ मा चीनको मध्यस्थतामा साउदी अरब र इरानबिच ऐतिहासिक मेलमिलाप भएको थियो। दुवै देशले मध्यपूर्वका द्वन्द्वमा लामो समयसम्म विपरीत पक्षलाई समर्थन गरेका थिए।
सन् २०१६ मा प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीले साउदी कूटनीतिक मिसनमाथि आक्रमण गरेपछि रियादले इरानसँग सम्बन्ध तोडेको थियो। एएफपी
प्रकाशित: ३० जेष्ठ २०८२ १४:३० शुक्रबार

