२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तस्बिरमा एयर इन्डियाको हवाई जहाज दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ।

गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको विमान टेकअफको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको हो। विमान विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किए थियो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१, बोइङ ७८७ ड्रिमलाइनरले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे विमानस्थलबाट उडान भरेको थियो। उडेको दुई मिनेटपछि नै १:४० बजे विमानले नियन्त्रण गुमायो।

प्रारम्भिक जानकारी अनुसार, इन्जिनमा प्राविधिक गडबडी आएपछि विमान विमानस्थलको पर्खालमा ठोक्किँदै नजिकै रहेको डाक्टरहरूको आवासीय भवनमा खसेको थियो।

विमानमा सवार २४२ जनामध्ये हालसम्म १२० जनाको शव भग्नावशेषबाट निकालिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। विमानमा पूर्व मुख्यमन्त्री रूपाणीका अलावा ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि थिए।

विमान भवनमा ठोक्किँदा त्यहाँ बस्दै आएका कम्तिमा १५ जना डाक्टर घाइते भएका छन्। उद्धारकर्मीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेकाहरूको खोजी कार्य जारी राखेका छन्।

पूर्व मुख्यमन्त्री विजय रूपाणी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए। उनका एक निकट सहयोगीले उनी सोही विमानको सिट नम्बर १२ मा रहेको पुष्टि गरेका थिए।

हेराैं केही तस्बिरहरु। सबै तस्बिर: साम पन्थाकी/एएफपी

प्रकाशित: २९ जेष्ठ २०८२ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App