भारतको बेंगलुरुमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को विजय उत्सव मनाउन आयोजित र्यालीमा भागदौड मच्चिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।
बुधबार दिउँसो एम. चिन्नास्वामी स्टेडियम बाहिर, क्युबन पार्क नजिकैको गेटबाट सयौं मानिसहरू एकैसाथ स्टेडियमभित्र प्रवेश गर्न खोज्दा भागदौड मच्चिएको थियो।
भिड अनियन्त्रित भई स्टेडियमभित्र पस्न थालेपछि प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो। केही समर्थकहरूले स्टेडियमको पर्खाल नाघ्ने प्रयास समेत गरेका थिए। पर्खाल चढ्ने क्रममा एक व्यक्ति लडेर खुट्टा भाँचिएको छ।
प्रहरीले घाइते र बेहोस मानिसहरूलाई नजिकैको अस्पतालमा लगेको दृश्य देखिएको छ। उत्सव हेर्न आएका धेरै मानिसहरू भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्टेडियम नजिकका केही बेंगलुरु मेट्रो स्टेशनमा पनि रेलबाट ओर्लिएर भर्याङतर्फ लागिरहेका मानिसहरूको ठूलो भीड देखिएको थियो।
उत्सवको एक झलक पाउन मानिसहरू रूख चढिरहेका र हाँगाहरूमा बसिरहेका देखिएका थिए।
प्रकाशित: २१ जेष्ठ २०८२ १८:२९ बुधबार


-600x400.jpg)


