विश्व मौसम विज्ञान संगठनले जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी भविष्यवाणीले आगामी पाँच वर्षमा विश्वको तापक्रम रेकर्ड कायम गर्ने अथवा त्यसको नजिकै रहने प्रक्षेपण गरेको छ। यसले समाज, अर्थतन्त्र र दिगो विकासमा जलवायु जोखिम र प्रभावहरूलाई बढाउने देखिएको छ ।
बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्ष सन् २०२४ भन्दा बढी गर्मी हुने सम्भावना ८० प्रतिशत छ । यसै गरी, आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्ष सन् १८५०–१९०० को औसतभन्दा १.५ डिग्री सेन्टिग्रेडले बढी तातो हुने सम्भावना ८६ प्रतिशत रहेको छ ।
यसै गरी सन् २०२५–२०२९ सम्म ५–वर्षे औसत तापक्रम १.५ डिग्री सेन्टिग्रेड भन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहने आकलन छ । तर लामो अवधिको तापक्रम (दशकहरूको औसत) १.५ डिग्री भन्दा कम रहनेछ । यसै गरी, आर्कटिक क्षेत्रको तापक्रम विश्वव्यापी औसतभन्दा बढी रहने भविष्यवाणी गरिएको छ । वर्षाको ढाँचामा ठूलो क्षेत्रीय भिन्नताहरू रहने प्रतिवेदनमा उल्लेख छ ।
रिपोर्टले सन् २०२५ र २०२९ को बिचमा प्रत्येक वर्षको वार्षिक औसत विश्वव्यापी रुपमा जमिनको सतहको तापक्रम वृद्धिदर सन् १८५०–१९०० को औसतभन्दा १.२ देखि १.९ डिग्री सेन्टिग्रेडको बिचमा रहने भविष्यवाणी गरेको छ।
यसै गरी, सन् २०२५ र २०२९ को बिचमा कम्तीमा एक वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्ष (सन् २०२४) भन्दा बढी गर्मी हुने सम्भावना ८० प्रतिशत छ । कम्तीमा एक वर्ष पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री भन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ । रिपोर्टले हरेक वर्षका लागि विश्वव्यापी तापक्रमको भविष्यवाणी भने गरेको छैन ।
रिपोर्ट अनुसार, सन् २०२५–२०२९ को लागि पाँच–वर्षे औसत तापक्रम १.५ डिग्री भन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहने अनुमान छ । यो गत वर्ष जारी गरिएको प्रतिवेदन (२०२४–२०२८ अवधिका लागि) भन्दा ४७ प्रतिशत र २०२३ को प्रतिवेदन (२०२३–२०२७ अवधिका लागि) भन्दा ३२ प्रतिशतले अधिक हो ।
विश्वको तापक्रममा हुने हरेक अतिरिक्त डिग्री बढोत्तरीले हानिकारक तातो लहर, अत्यधिक वर्षा, तीव्र खडेरी, बरफको तह, समुद्री बरफ र हिमनदी पग्लिनु, महासागरको तापक्रम वृद्धि र समुद्री सतहको वृद्धि जस्ता प्रभावहरू निम्ताउने गरेको छ ।
आगामी पाँच वर्षको हिउदयाम अर्थात (नोभेम्बरदेखि मार्च) सम्ममा आर्कटिकको तापक्रम विश्वव्यापी औसतभन्दा साढे तीन गुणा बढी हुने अर्थात् हालको ३०–वर्षे आधारभूत अवधि (१९९१–२०२०) को औसत तापक्रमभन्दा २.४ डिग्रीले बढी हुने भविष्यवाणी प्रतिवेदनमा गरिएको छ ।
मार्च २०२५–२०२९ मा बेरेन्ट सागर, बेरिङ सागर, र ओखोत्स्क सागरमा समुद्री बरफको सघनतामा थप कमी आउने भविष्यवाणी प्रतिवेदनको छ ।
यसै गरी २०२५–२०२९ को गर्मी याम( मे–सेप्टेम्बर)का लागि गरिएको अनुमानित वर्षाको ढाँचा अनुसार यो अवधिमा सन् १९९१–२०२० को आधारभूत अवधि भन्दा साहेल, उत्तरी युरोप, अलास्का र उत्तरी साइबेरियामा औसतभन्दा बढी पानी र अमेजनमा यस सिजनमा औसतभन्दा सुख्खा अवस्था आउने देखिएको छ ।
सन् २०२३ बाहेक, हालका वर्षहरूमा दक्षिण एसियाली क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको छ र यो प्रवृत्ति २०२५–२०२९ अवधिका लागि पनि जारी रहने भविष्यवाणी प्रतिवेदनको छ। यो अद्यावधिक प्रतिवेदन बेलायतको मौसम विज्ञान कार्यालय र विश्व मौसम संगठनको सहकार्यमा बनाइएको हो।
“हामीले भर्खरै सबैभन्दा १० वटा गर्मी वर्षहरू अनुभव गरेका छौँ। दुर्भाग्यवश, यो रिपोर्टले आगामी वर्षहरूमा कुनै राहतको सङ्केत गर्दैन । र यसको अर्थ हाम्रो अर्थतन्त्र, हाम्रो दैनिक जीवन, हाम्रो इकोसिस्टम र हाम्रो ग्रहमा नकारात्मक प्रभाव बढ्दै जानेछ।‘ संगठनका उप–महासचिव को ब्यारेटले एक वक्तव्यमा भनेका छन् ।
उनले यो अवस्थामा सही निर्णय लिन तथा प्रतिकुल अवस्थामा अनुकूलित हुन विज्ञानमा आधारित उपकरण र जानकारी हुनुपर्ने र निरन्तर जलवायु अनुगमन र भविष्यवाणी आवश्यक रहने बताए ।
पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धिलाई यो शताब्दीको अन्तसम्म सकेसम्म १.५ डिग्री र नसके २ डिग्री सेन्टिग्रेडमा सीमित राख्नुपर्ने लक्ष्य तोकिएको छ । तर यो वृद्धिदरलाई मापन गर्दा विश्वव्यापी तापक्रम वृद्धिको लामो अवधि अर्थात २० वर्षे स्तरलाई आधार मानिन्छ । कुनै एक वर्षमा १.५ डिग्री भन्दा बढीले तापक्रम बढ्दा यसले यस प्रकारको प्रवृत्ति दोहोरिने र विश्वव्यापी तापक्रम नियन्त्रणका लक्ष्य हासिल गर्न कठिन हुने वैज्ञानिक मान्छन् ।
गत मार्चमा जारी गरिएको संगठनको ‘ ग्लोबल क्लाइमेट २०२४’ नामक प्रतिवेदनले सन २०२४ मा सन् १८५०–१९०० को औसतभन्दा १.५ डिग्रीले सरदर तापक्रम बढेको देखाएको थियो । तापक्रमको रेकर्ड राख्न थाले यता सन् २०२४ विगत १७५ वर्षमै सबैभन्दा गर्मी वर्ष थियो ।
वैज्ञानिक समुदायले सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेड भन्दा हुँदा धेरै गम्भीर जलवायु परिवर्तनका प्रभावहरू र चरम मौसमलाई निम्त्याउने चेतावनी दिँदै आएका छन् ।
प्रकाशित: १४ जेष्ठ २०८२ १२:४३ बुधबार





