अमेजनका जंगलवासीहरू न्युयोर्क टाइम्स अखबारसँग ज्यादै रुष्ट छन्। यति रुष्ट छन् कि उनीहरूले सो अखबारविरुद्ध मानहानिको मुद्दा नै दायर गरेका छन्। उनीहरूको आरोप छ– अखबारले छापेको एउटा समाचारले उनीहरूको बेइज्जत भएको छ। आफूहरू अश्लीलताको कुलतको सिकार भएको भनेर अखबारले लेखेको कुरा उनीहरूलाई मन परेको छैन।
यो मुद्दामा उनीहरूले न्युयोर्क टाइम्ससँगै अन्य दुई मिडिया टिएमजेड र याहु डटकमलाई पनि प्रतिवादी बनाएका छन्। टिएमजेड एउटा मनोरञ्जनात्मक समाचार च्यानल हो भने याहु डटकम इन्टरनेट पोर्टल हो। याहुले समाचारसमेत पस्किने गरेको छ।
न्युयोर्क टाइम्सले समाचारबारे केही गलत बुझाइ भएको भन्दै आफ्नो समाचारमा अमेजनका जनजातिका कुनै पनि सदस्य अश्लीलताको कुलतमा परेको भनेर कुनै रिपोर्ट नबनाएको प्रस्ट्याएको छ। अन्य दुई मिडियाले भने अहिलेसम्म आफ्ना तर्फबाट कुनै प्रतिक्रिया दिएका छैनन्।
बिबिसीका अनुसार अमजेनको जंगलमा रहेका मारुबो जनजातिको संख्या हाल दुई हजार मात्र छ। उनीहरूको इज्जतमा दाग लगाएबापत ती सबै मिडियाबाट आफूहरूले एक सय ८० मिलियन डलर क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।
केही समयअघि इलन मस्कको स्पेस एक्स कम्पनीले स्टारलिंक इन्टरनेट कम्पनीबाट सेवा दिन थालेको थियो। उनीहरूले सो सेवा उपभोग गर्न थालेको नौ महिनापछि न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको थियो। सो समाचारमा संसारकै अलगथलग रूपमा रहेको जनजातिले अमेरिकी घरहरूमा वर्षौंदेखि चलेका र जुझिरहेका चुनौतीहरूसँग जुझिरहेको रिपोर्टमा उल्लेख गरेको थियो। समाचारमा ‘मोबाइलमा टाँसिएका किशोरहरू’, ‘हिंसात्मक भिडियो गेमहरू’ र ‘अश्लील सामग्री हेर्दै गरेका नाबालिगहरू’ भनी उल्लेख गरिएको थियो।
त्यसो त सो समाचारमा इन्टरनेटका कारण सो समुदायले पाउने गरेका फाइदाहरूका बारेमा पनि उल्लेख गरिएको थियो। समुदायका स्वास्थ्य समस्याहरू, वातावरणीय क्षतिबारे सरकारी अधिकारीहरूलाई सूचना दिन सक्ने सशक्त सूचना सञ्जाल र टाढाका परिवारसँग सोचेका बेला सम्पर्क राख्न सक्नेजस्ता सशक्त पक्षहरू पनि उत्तिकै रहेको रिपोर्टमा उल्लेख गरिएको थियो।
उता मुद्दामा भने साना कुरालाई सनसनीखेज बनाएको आरोप लगाइएको छ। खासगरी टिएमजेडले ‘पोर्नोग्राफीको कुलत’ भन्ने शीर्षक बनाएको थियो। लगत्तै न्युयोर्क टाइम्सले भने मुख्य समाचार प्रकाशित भएको लगभग एक सातापछि अर्को फलोअप समाचार बनाएको थियो।
त्यसको शीर्षक थियो– ‘होइन, अमेजनका जनजाति पोर्नोग्राफीका कुलती होइनन्।’ सो समाचारमा आधारित रहेर संसारभरका सयभन्दा बढी वेबसाइटहरूले समाचारलाई उल्टो र सनसनीखेज बनाए। तिनमा मारुबो जनजातिहरू पोर्नोग्राफीको कुलती भएको दाबी गरिएको थियो।
मुद्दामा मुख्य गरी न्युयोर्क टाइम्सको मूल समाचारलाई आधार बनाइएको छ। सो समाचारमा मारुबो जनजाति इन्टरनेटको आधारभूत प्रयोग सम्हाल्नै नसक्ने समुदायका रूपमा चित्रण गरेकोमा उनीहरू आक्रोशित छन्। आफ्ना युवापुस्ता अश्लील सामग्रीमा लिप्त भएको आरोप उनीहरूले सहन सकिरहेका छैनन् भनी स्थानीय ब्राजिली अखबारले जनाएका छन्।
मुद्दाका वादीहरू जनजाति नेता इनोक मारुबो र ब्राजिलका मानवअधिकार कार्यकर्ता फ्लोरा डुट्राले आफ्ना आदिवासीहरूलाई २० वटा स्टारलिंक एन्टेना (एउटा एन्टेनाको १५ हजार डलर बराबर मूल्यको) वितरण गर्न सहयोग गरेका थिए। उनीहरू दुवैले न्युयोर्क टाइम्सको समाचारका कारण संसारभर आफ्नो बेइज्जत तीव्र गतिमा भएको गुनासो गरेका छन्। ‘यो खराब समाचारले उनीहरूप्रति अपमान, उत्पीडन र उनीहरूको प्रतिष्ठा तथा सुरक्षामा सच्याउनै नसक्ने गरी क्षति पुर्याएको छ,’ उनीहरूले भनेका छन्।
टिएमजेडको समाचारमा त मारुबो र डुट्राले एन्टेना वितरण गर्दै गरेको भिडियोसमेत समावेश गरिएको थियो। आदिवासीहरूमाझ यसरी इन्टरनेट एकै झमटमा पुग्दा समुदायमा हानिकारक यौन सामग्रीको पहुँच सहज भएको र कथित नैतिक र सामाजिक पतन सुविधाजनक बनाएको समाचारमा जनाइएको थियो। यस किसिमले समाचार बनाउनु दुर्नियत भएको मारुबोको धारणा छ।
उता न्युयोर्क टाइम्सका प्रवक्ताले भने समाचार निष्पक्ष रहेको बताएका छन्। उनले समाचारमा संवेदनशीलता र सूक्ष्म अन्वेषण पनि गरिएको बताएका छन्। ‘अमेजनको जंगलमा रहेको एउटा गाउँमा नयाँ प्रविधि पुग्दा त्यसका फाइदा, जटिलतासँगै त्यहाँको गौरवशाली इतिहास र संरक्षित संस्कृतिबारे यो समाचार तयार पारिएको थियो। यो उनीहरूविरुद्ध तयार पारिएको भन्ने बुझाइलाई हामी जोडदार प्रतिरोध गर्नेछौं,’ उनले भनेका छन्।
प्रकाशित: ११ जेष्ठ २०८२ ०६:५२ आइतबार





