अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ताबाट नयाँ सम्झौता नभए अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन्।
शुक्रबार प्रकाशित अन्तर्वार्तामा ट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिसँग भेट्न तयार रहेको बताउँदै सम्झौताको आशा व्यक्त गरे। ‘यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरुद्ध आक्रमण सम्भव छ। हामीले आक्रमण गर्नुपर्छ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो,’ उनले भने।
वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक वार्ता चलिरहँदा ट्रम्पको यो भनाइले युद्धको जोखिम बढाएको छ। दुवै पक्षले रोममा भएको पछिल्लो बैठकमा आशावादी रहेको बताएका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, ‘हामी हरेक मुद्दामा एकै पक्षमा छौँ।’ इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमणबाट रोकेको समाचारबारे टाइमले सोध्दा उनले भने, ‘यो सही होइन।’
‘मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ हामी आक्रमणबिना सम्झौता गर्न सक्छौँ, त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन खोजेको हो,’ उनले भने।
‘मैले त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,’ उनले थपे।
नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भने, ‘उनी युद्धमा जान सक्छन्। तर हामी तानिएका छैनौँ। यदि सम्झौता भएन भने म युद्धमा जान सक्छु। सम्झौता भएन भने म इरानविरुद्धको लडाइँको नेतृत्व गर्नेछु।’
ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालाको इरानसँगको आणविक सम्झौता तोडेका थिए।
इजरायल र पश्चिमा शक्तिहरूले मध्यपूर्वको एकमात्र आणविक शक्ति सम्पन्न इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट्न चाहनुहुन्छ भनी सोध्दा ट्रम्पले भने, ‘अवश्य भेट्नेछु।’ एएफपी
प्रकाशित: १३ वैशाख २०८२ ०९:४० शनिबार





