कश्मीरमा भएको घातक गोलीकाण्डपछि आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका छन्। संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह गरेको छ।
भारतले पहलगाममा २६ नागरिकको हत्या भएको आक्रमणलाई पछिल्लो २५ वर्षकै सबैभन्दा खराब घटना भन्दै पाकिस्तानमाथि ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको छ। यसले दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ।
‘हामी दुवै सरकारलाई अधिकतम संयम अपनाउन र अवस्था बिग्रिन नदिन अपील गर्छौं,’ संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा भने, ‘भारत र पाकिस्तानबीचको कुनै पनि मुद्दा शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ।’
भारतीय प्रहरीले तीन बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा आक्रमणकारीहरूलाई पक्रने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘म विश्वलाई भन्छु: भारतले हरेक आतङ्कवादी र तिनका समर्थकलाई खोजेर सजाय दिनेछ। हामी तिनीहरूलाई पृथ्वीको कुनै पनि कुनामा पुगेर पक्रन्छौं,’ उनले भने।
पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै भारतको आरोपलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कदमको जवाफ दिने चेतावनी दिएको छ। ‘पाकिस्तानको सार्वभौमसत्ता र जनताको सुरक्षामा कुनै खतरा आएमा कडा कदम चालिनेछ,’ प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकपछि भने।
सन् १९४७ मा स्वतन्त्रतापछि कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ। दुवै देशले यो क्षेत्रमाथि पूर्ण दाबी गर्छन् तर आ–आफ्नो भागमा शासन गर्छन्। सन् १९८९ देखि विद्रोही समूहहरूले भारत नियन्त्रित कश्मीरमा स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग राख्दै विद्रोह गरिरहेका छन्।
भारतको वायुसेना र नौसेनाले बिहीबार सैन्य अभ्यास गरे। प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तानस्थित लश्कर–ए–तैयबा समूहका सदस्य हुन्, जुन संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादी सङ्गठन घोषित छ। प्रत्येक आक्रमणकारीको सूचना दिनेलाई २० लाख रुपैयाँ (२३,५०० डलर) इनाम घोषणा गरिएको छ।
आक्रमणपछि भारतले पानी साझेदारी सन्धि निलम्बन, पाकिस्तानसँगको मुख्य सीमा बन्द, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानीका लागि भिसा खारेज गरेको छ। जवाफमा पाकिस्तानले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकार निष्कासन, सिख तीर्थयात्रीबाहेक भारतीयका लागि भिसा रद्द र आफ्नो तर्फको सीमा बन्द गरेको छ। पाकिस्तानले सिन्धु नदीको पानी रोकेमा त्यसलाई ‘युद्धको कार्य’ मान्ने चेतावनी दिएको छ।
पहलगाम आक्रमणको प्रकृति
पहलगामको यो आक्रमण हालका कश्मीरी विद्रोहबाट फरक छ, जसले सामान्यतया भारतीय सुरक्षा बललाई निशाना बनाउँथ्यो। विशेषज्ञहरूले सैन्य जवाफ केही दिन वा हप्ताभित्र आउन सक्ने अनुमान गरेका छन्। सन् २०१९ मा ४१ भारतीय सैनिक मारिएको आक्रमणपछि भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो, जसले दुई देशलाई युद्धको सँघारमा पुर्याएको थियो।
‘यी आतङ्कवादीहरूको जति पनि थोरै भूमि छ, त्यसलाई धुलोपिठो बनाउने समय आएको छ,’ मोदीले मृतकको सम्झनामा दुई मिनेट मौन धारणपछि भने। आक्रमणमा एक नेपालीबाहेक सबै भारतीय मारिएका थिए।
सन् २०१९ को पुलवामा आक्रमणमा विद्रोहीले विस्फोटकले भरिएको कार प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु भएको थियो। भारतले १२ दिनपछि पाकिस्तानमा हवाई आक्रमण गरेको थियो।
मङ्गलबार पहलगाममा पर्यटकहरू पहाडी दृश्यको आनन्द लिइरहँदा जङ्गलबाट आएका बन्दुकधारीले स्वचालित हतियारले भीडमाथि गोली चलाए। बाँचेकाहरूले सञ्चारमाध्यमलाई बताएअनुसार बन्दुकधारीले पुरुषलाई निशाना बनाए र इस्लामिक विश्वास घोषणा गर्नेहरूलाई छोडे।
भारतीय सुरक्षा बलले आक्रमणकारी खोज्न ठूलो सङ्ख्यामा मानिसलाई हिरासतमा लिएको छ। यो आक्रमणले हिन्दू राष्ट्रवादी समूहलाई आक्रोशित बनाएको छ, र भारतभर कश्मीरी विद्यार्थीले उत्पीडन र धम्कीको सामना गरेको बताएका छन्। एएफपी
प्रकाशित: १२ वैशाख २०८२ १८:०७ शुक्रबार