पाकिस्तानको बलुचिस्तान प्रान्तमा पेशावर–क्वेटा जाफर एक्सप्रेसमाथि भएको अपहरण प्रकरणमा सुरक्षा बलले १५५ बन्धकहरूलाई उद्धार गरेका छन्। एआरवाई न्यूजले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै उद्धार कार्य जारी रहँदा २७ विद्रोही मारिएको जानकारी दिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार यो रेलमाथि आक्रमण गरेर अपहरण गरेको थियो।
क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको यो रेलमा ४२५ यात्रु सवार थिए। यात्रा गर्नेमा पाकिस्तानी सैनिक र प्रहरीहरू पनि थिए। बीएलएले २१४ यात्रुलाई बन्धक बनाएको थियो। समूहले आक्रमणमा ३० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। तर यो कुरा पुष्टि भएको छैन। बीएलएले बन्धक बनाइएका यात्रुहरूलाई युद्धबन्दीको रूपमा वर्णन गरेको छ। उनीहरूको बदलामा पाकिस्तानी जेलमा रहेका बलुच कार्यकर्ता, राजनीतिक बन्दी, बेपत्ता व्यक्तिहरू, विद्रोही, र पृथकतावादी नेताहरूलाई निःशर्त रिहा गर्न माग गरेको छ।
आक्रमणका क्रममा रेलका चालक गम्भीर रूपमा घाइते भएका थिए। विद्रोहीहरूले रेलवे ट्र्याकमा बम विस्फोट गराएर रेल रोकेका थिए। उद्धार गरिएका यात्रुहरूलाई कडा सुरक्षा व्यवस्थाबीच क्वेटा स्थानान्तरण गरिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार विद्रोहीहरूलाई ठूलो क्षति पुगेको छ। उनीहरू साना समूहमा विभाजित भएका छन्।
केही घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। यो क्षेत्र अत्यन्त दुर्गम मानिन्छ। पाकिस्तानी सेनाले विद्रोहीहरूलाई घेराबन्दीमा पारेर गोलीबारी जारी राखेको छ। विद्रोहीहरूसँग आत्मघाती बमवर्षकहरू रहेको पाइएको छ। उनीहरूले निर्दोष नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको सुरक्षा बलले जनाएको छ। उद्धार कार्य र विद्रोहीविरुद्धको कारबाही अझै जारी छ।
प्रकाशित: २८ फाल्गुन २०८१ १३:२० बुधबार