१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पको सम्बोधन : अमेरिका फिर्ता आएको सन्देशसहित नयाँ युगको सुरुवात

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफ्नो दोस्रो कार्यकालको उद्घाटन भाषण सुरु गरेका छन्। निर्धारित समयभन्दा केही ढिला सुरु भएको यो सम्बोधनमा उनले ‘अमेरिका फिर्ता आएको छ’ भन्ने तीन शब्दको शक्तिशाली सन्देशसहित आफ्नो भाषणको थालनी गरेका छन्। 

उनले भने, ‘छ हप्ता अघि, मैले यो क्यापिटलको गुम्बजमुनि उभिएर (अमेरिकाको स्वर्ण युगको बिहानी) घोषणा गरें। त्यस क्षणदेखि, हाम्रो देशको इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा सफल युगको सुरुवात गर्न द्रुत र अथक कार्य बाहेक अरू केही भएको छैन।’ राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गरेको कुरालाई जोड दिए। 

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूलाई भ्रष्टको संज्ञा दिँदै ती संस्थाबाट अमेरिकालाई अलग गरेको निर्णयको स्मरण गराए। साथै, उनले विश्वभर अमेरिकाले दिँदै आएको आर्थिक र मानवीय सहायतालाई रोकेको कुरा पनि उल्लेख गरे। ‘हामीले हाम्रा करदाताको पैसा अनावश्यक ठाउँमा खर्च गर्नुको सट्टा अमेरिकी जनताको हितमा लगानी गर्नेछौं,’ उनले थपे। 

त्यस्तै, उनले अंग्रेजीलाई अमेरिकाको आधिकारिक राष्ट्रभाषा घोषणा गरेको निर्णयलाई पनि सम्बोधनमा समेटेका छन्। ट्रम्पले आफ्नो प्रशासनले हालसम्म गरेका कामहरूलाई उल्लेख गर्दै भने, ‘धेरैजसो प्रशासनले चार वर्ष वा आठ वर्षमा हासिल गरेको भन्दा हामीले ४३ दिनमा धेरै उपलब्धि हासिल गरेका छौं। हामी भर्खरै सुरु गर्दैछौं।’

उनले आफ्नो दोस्रो कार्यकालको पहिलो छ हप्तामा कार्यकारी आदेशहरू मार्फत संघीय सरकारको आकार र कार्यक्षेत्रमा ठूलो परिवर्तन ल्याएको, आप्रवासन नीतिमा कडाइ गरेको र व्यापारिक सम्झौताहरूमा नयाँ तरंग ल्याएको दाबी गरे। विशेषगरी, मेक्सिको, क्यानडा र चीनमाथि लगाइएको नयाँ कर (ट्यारिफ) ले विश्व बजारमा हलचल ल्याएको छ, जसको प्रभाव अमेरिकी अर्थतन्त्रमा पनि देखिन थालेको छ। 

ट्रम्पको यो सम्बोधनमा चुनावमा देखिएको विजयलाई पनि उल्लेख गरेका छन्। उनले भने, ‘यो जितले मलाई धेरै दशकहरूमा नदेखिएको जनादेश प्रदान गरेको छ।’ उनको सम्बोधन हुँदै गर्दा तनावपूर्ण वातावरण सिर्जना भएकाे थियो। टेक्सासका डेमोक्र्याट सांसद अल ग्रीनलाई सम्बोधनको सुरुमै हस्तक्षेप गरेको भन्दै हाउस सभामुख माइक जोन्सनको आदेशमा सभाहलबाट बाहिर निकालिएको थियो। ट्रम्पले आफ्नो सम्बोधनमा एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को पनि प्रशंसा गरेका छन्। डोजले संघीय कर्मचारीहरूको संख्यामा ठूलो कटौती गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०८१ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App