अमेरिकी गुप्तचर संस्था सीआईएले कोभिड महामारीको फैलावटसम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै कोरोना भाइरस चीनको प्रयोगशालाबाट चुहावट भएको हुनसक्ने सम्भावना रहेको बताएको छ।
शनिबार सार्वजनिक गरिएको रिपोर्टमा भाइरस जनावरबाट नभई प्रयोगशालासँग सम्बन्धित कारणले फैलिएको हुनसक्ने बताएको हो। तर, सीआईएले यस नतिजालाई ‘कम विश्वासयोग्य’ रहेको भन्दै सचेत गराएको छ।
सीआईएका प्रवक्ता जोन र्याटक्लिफले उपलब्ध रिपोर्टको आधारमा महामारीको स्रोत ‘प्राकृतिक’ भन्दा पनि ‘अनुसन्धानसँग सम्बन्धित’ हुन सक्ने बताए। उनलाई हालै राष्ट्रपित डोनाल्ड ट्रम्पले सीआईएको नयाँ निर्देशकका रुपमा बिहीबार नियुक्त गरेका थिए।

उनी ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा कार्यरत थिए। साथै, लामो समयदेखि प्रयोगशाला चुहावट सिद्धान्तको पक्षमा रहेका छन्। उनले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस चुहावट भएको दाबी गरेका छन्। यो संस्थान हुयानानको बजार नजिकै छ। जहाँ पहिलो संक्रमण देखा परेको थियो। यसै स्थानबाट करिब ४० मिनेटको दुरीमा इन्स्टिच्युट रहेको छ।
शुक्रबार ब्राइटबार्ट न्युजसँगको अन्तर्वार्तामा र्याटक्लिफले सीआईएले भाइरसको उत्पत्तिबारे निष्क्रिय अवस्थामा रहनु ठीक नभएको बताएका थिए।
उनले भने, ‘चीनबाट आएको खतरा विभिन्न क्षेत्रमा रहेको कुरा मैले बारम्बार उल्लेख गर्दै आएको छु। त्यो लाखौं अमेरिकीको मृत्युको कारण बन्यो र पाँच वर्षसम्म सीआईएले कोभिडको उत्पत्तिबारे कुनै निष्कर्षमा नपुगेको कुरा स्वीकार्य छैन।’
तर, अमेरिकी सञ्चारमाध्यमका अनुसार यो नयाँ मूल्याङ्कन कुनै नयाँ गुप्तचर सूचनामा आधारित छैन। यो समीक्षा बाइडेन प्रशासनको अन्तिम समयमा सुरु गरिएको थियो र ट्रम्पको नेतृत्व सम्हाल्नु अघिनै पूरा भएको बताइएको छ।
शनिबारको समीक्षा ‘कम विश्वासयोग्य’ आधारमा गरिएको हो। जसको मतलब यसको समर्थन गर्ने गुप्तचर सूचना स्पष्ट, निष्कर्षमूलक वा विश्वसनीय छैन।
कतिपयले भाइरस जनावरबाट प्राकृतिक रूपमा फैलिएको ‘प्राकृतिक उत्पत्ति’ सिद्धान्तलाई समर्थन गर्छन्। यसमा कुनै प्रयोगशाला वा वैज्ञानिकको भूमिका नरहेको भनिन्छ।
तर, प्रयोगशाला चुहावट सिद्धान्तलाई लिएर वैज्ञानिकहरूबीच व्यापक विवाद छ। कतिपयले यसलाई प्रमाणहीन भनी खारेज गरेका छन्। चीनले यसअघि यो दाबीलाई वाशिङ्टनको ‘राजनीतिक खेल’ भएको बताउँदै अस्वीकार गरेको थियो।
यद्यपि, केही गुप्तचर एजेन्सीहरूबीच यो विवादास्पद सिद्धान्तलाई समर्थन गर्ने प्रवृत्ति बढ्दो छ।
सन् २०२३ मा, एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्यूजसँगको अन्तर्वार्तामा महामारीको सम्भावित स्रोत ‘प्रयोगशालासम्बन्धी घटना’ भएको बताउँदै आफ्नो एजेन्सीको मूल्याङ्कन व्यक्त गरेका थिए।
प्रकाशित: १३ माघ २०८१ १५:४९ आइतबार





