६ माघ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कालो टिकटक, अँध्यारो अमेरिका

चिनियाँ कम्पनी बाइटडान्सको छोटो भिडियो चलाइने एप टिकटक आइतबारसम्म कि त बेच्न कि त बन्द गर्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ। एपले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउने आधारमा यो एप बन्द गर्ने वा अमेरिकी कम्पनीलाई बेच्न आदेश दिएको हो।

उता बाइटडान्स कम्पनीले भने टिकटकबारेको आदेशले अमेरिकाको संविधानको पहिलो संशोधनको सिधा उल्लंघन गरेको बताएको छ। अमेरिकाको संविधानको पहिलो संशोधनमा प्रमुख स्वतन्त्रतामा धर्म, वाक्, प्रेस, सभालगायत छन्। सर्वोच्चले सोही स्वतन्त्रतालाई हनन गरेको भन्दै कतिपय सर्वसाधारणले विरोध गर्दै प्रदर्शनसमेत गरेका छन्।

अमेरिकामा ज्यादै लोकप्रिय टिकटक अब आइतबारदेखि अँध्यारो मात्र हुनेछ। यसअघि नेपालले पनि टिकटकको कालो मात्र देख्ने गरी प्रतिबन्ध लगाएको थियो। भारतमा भने अझै पनि टिकटक बन्द छ।

चीन–भारतबीच सीमा विवादबिच सैनिकहरू भिडेपछि सन् २०२० मा भारतमा टिकटकलाई प्रतिबन्ध लगाइएको थियो। अफगानिस्तानमा सन् २०२२ देखि नै त्यसलाई बन्द गरिएको छ। क्यानडा, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, बेल्जियमजस्ता देशका सरकारी कार्यालयहरूमा टिकटक चलाउन पूर्णतः बन्देज लगाइएको बताइन्छ। डेटाको गोपनीयता, राष्ट्रिय सुरक्षा र बालबालिकामा नकारात्मक असर परेको भन्दै ती देशमा यसको नियन्त्रात्मक प्रयोग मात्र दिइएको छ।

अमेरिकामा भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको निर्णयको सम्मान गर्ने बताउँदै सो निर्णयलाई स्थगन गर्न अन्य कुनै उपायको खोजी गरिने बताएका छन्। शुक्रबार गरिएको सो निर्णयलगत्तै टिकटकका प्रमुख कार्यकारी सो चिउले राष्ट्रपति ट्रम्पले उपायको खोजी गर्ने कुराप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

उनले १७ करोड अमेरिकीले प्रयोग गरिरहेको यो एप यत्तिकै बन्द गर्नु भनेको उनीहरूको भावना अभिव्यक्तिको माध्यम नै बन्द गर्नु रहेको बताउँदै संसद्को सुरक्षाजस्ता जायज चासोहरू सम्बोधन गर्न आफू जहिल्यै तयार रहेको बताएका छन्।

उता एप बन्द गर्नुपर्ने पक्षमा रहेकाहरूले भने टिकटक प्रयोग गर्नेका निजी सूचना एपले संकलन गर्ने डर एकातर्फ छँदैछ, अर्कातर्फ भने कहिल्यै टिकटक नचलाएकाहरूको सूचनासमेत संकलन गर्न सक्ने क्षमता भएकाले यसलाई मिहिन र गम्भीर भएर सोच्नुपर्ने बताइरहेका छन्। उता यस निर्णयको विरोध गर्दै केहीले प्रदर्शनसमेत गरेका छन्। सानातिना व्यापारीका लागि यो एउटा कमाउने र रोजीरोटी चलाउने माध्यमका रूपमा विकसित भइरहेकाले यस्तो निर्णयले आफ्नो व्यापार र गरिखाने बाटो बन्द भएको प्रतिक्रिया दिएका छन्।

अब टिकटकमा कालो मात्रै देखिने !

हो, अमेरिकामा अब टिकटक खोल्दा अधिकांशतः कालो स्क्रिन देखिनेछ। अदालतले दिएको आदेश पूर्णतः लागु भए आइतबारबाट यस्तो अवस्था आउनेछ। आदेश पालना गर्न एप्पल एपस्टोर र गुगलको प्लेस्टोरबाट अब यो गायब हुनेछ। गायब नभए कानुनअनुसार ती कम्पनीले ठुलो राशि जरिवानाबापत सरकारलाई तिर्नुपर्ने हुन्छ। यस्तोमा अब कुनै नयाँ व्यक्तिले नयाँ एप इन्स्टल गर्न चाहेको खण्डमा टिकटकको एप फेला पर्नेछैन। मोबाइलमा पहिल्यै एप छ भनेचाहिँ खोल्दा कालो पर्दा मात्र देखिनेछ।

अमेरिकाका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू भेरिजोन र कामकास्टले कानुन पालना गर्नुपर्ने हुन्छ र उनीहरूले पहिल्यै इन्स्टल गरिएको टिकटक चलाउन पहुँच दिनेछैनन्। अनेक उपाय लगाएर चलाउन नसकिने पनि होइन। नेपालमै पनि यो एप प्रतिबन्ध हुँदा भिपिएनजस्ता उपाय लगाएर केहीले टिकटक चलाउने गर्थे।

यस्तै केहीले साइड लोडिङ पनि गरेका थिए। ठिक त्यसैगरी अमेरिकामा त्यस्ता उपायहरू लगाउन नसकिने होइन तर जसले टिकटक चलाइरहेको छ, उसको आधार भनेको व्यापक रूपमा चलाइरहेका अन्य टिकटकर पनि हुन्। उनीहरूको पहुँच नै निकै कम हुन थालेपछि क्रमशः प्रयोग पनि घट्दै जानेछ। चलिरहेको एपको गुणस्तर पनि घट्दै जाने हुनाले ग्राहकहरू आफैं टिकटकबाट क्रमशः निस्कन बाध्य हुनेछन्।

त्यसो भए टिकटकमा भएका अकाउन्ट र अन्य निजी डेटाहरू के हुन्छ त? विज्ञहरू भन्छन्, टिकटकरहरू निष्क्रिय हुँदै जाँदा फलोअर पनि घट्दै जानेछन्। यस्तो अवस्थामा टिकटक सञ्चालकले ती सबै डेटा अन्यत्र सार्नेछ। त्यसो त गएको महिना अदालतले टिकटकबारे निर्णय गर्ने तयारी गर्दै गर्दा केही महिना पर सार्न ट्रम्पले आग्रह गरेका थिए।

यस्तै चीनसँग वार्ता गर्न आफूले टिकटकलाई एउटा औजारका रूपमा प्रयोग गर्न सक्ने सम्भावना पनि देखेका थिए। चिनियाँ अधिकारीहरूसँग टिकटक प्रतिबन्धबाट जोगाउनेबारे छलफल पनि भएका समाचारहरू आइरहेका थिए। इलन मस्क, अर्का अर्बपति तथा प्रोजेक्ट लिबर्टीका सञ्चालक फ्रांक म्याक्कोर्ट तथा अन्य पनि यसलाई किन्न इच्छुक देखिएका थिए। पछि इलनले आफू यो खेलमा नरहेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: ६ माघ २०८१ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App