६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

हिँड्डुल गर्न नसक्नेहरूलाई वडा-वडामै भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ राेकायाबाडा गाउँका ८४ वर्षका धनपति राेकाया वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित छन्। बल्लतल्ल स्थानीय सरकार घर आँगनमै आएको महसुस उनले गरे। ‘भत्ता बुझ्नका लागि डेढ घण्टा हिँडेर बैंक जानुपर्थ्यो,' उनले विगत बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे, ‘बिरामी हुँदा घरपरिवारले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन कुरेर फर्किनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो।’

आफू दमको राेगी भएको र हातगोडा दुख्ने र साँझ बिहान आँगनमा हिँड्डुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न कठिन हुने गरेको उनले बताए। ‘जनप्रतिनिधिले वडामै भत्ता ल्याइदिए, धैरै उत्साहित छु,' धनपतिले सुनाए।

यस्तै कनकासुन्दरी-५ बडुवालबाडा गाउँकी ८० वर्षीया सुकुल्ली बडुवाललाई बैंकसम्म आउन घण्टाैं समय लाग्ने गर्छ। पैदल हिँडेर जानुपर्ने बाध्यता एकातर्फ त अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन् बढी जोखिम हुने उनी बताउँछिन्। ‘समयको बचत भयो, नजिकै भत्ता पाउँदा निकै हर्षित छु, विगतका दिनमा पीडा खेपिरहेका म लगायत धेरै जेष्ठ नागरिक खुसी छाैँ,' उनले भनिन्, 'टाढा हुँदा न बैंकबारे केही बुझिन्थ्यो न भत्ता लिन जान सजिलो थियो, सबै दु:ख पीडा कम भयो। जय, जयकार होस्।'

जनप्रतिनिधि तथा कर्मचारीहरूलाई उनले आशीर्वाद दिइन्। अर्की कनकासुन्दरी -६ लाहार्ज गाउँकी एकल महिला ७० वर्षीया बाचुकला हमालको भत्ता बुझ्न आउँदा-जाँदाको अनुभव सुकुल्लीको जस्तै छ। उनी घरबाट हिँडेर गाउँपालिकाको सदरमुकाम जाेठिज्युला पुग्थिन्। वर्षामा रुझ्दै होस् वा घन्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन उनी सम्झिन्छिन्। उनी भन्छिन्, ‘समयसँगै रुपैयाँ पनि बचत हुने भयाे, वडामै सामाजिक सुरक्षा भत्ता पाउनु ठूलो राहत हुनेछ।’

उक्त गाउँपालिका-५ लुड्कु गाउँका ८४ वर्षका हरिलाल घर्तीलाई शारीरिक दुर्बलताले पाउने भत्ता लिन सधैं कष्ट हुन्थ्यो। घरपरिवार, वरपरका छिमेकीको सहायताले जानुपर्थ्यो। तर वडाबाटै भत्ता पाएपछि अहिले सजिलाे भएको छर सरकारले २०७३ सालबाटै सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट सुरु गरेको थियो। तर, भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि कष्टकर भएको अनुभूति उनीहरूले गरेका थिए।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेका बेला जुम्लाको कनकासुन्दरी गाउँपालिकाले भने वडा–वडामा पुगेर भत्ता वितरण थालेको हो।

चालू आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको दोस्रो त्रैमासिक रकम वडा–वडामा पुगेर गत बुधबारबाट वितरण सुरु गरेको हो। गाउँपालिका, कुमारी बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटिएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। भौगोलिक विकटता र शारीरिक रूपमा अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन नसक्नेहरूलाई लक्षित गरी यो कार्य गरिएको उनले बताए। ‘वृद्धवृद्धा, हिँड्डुल गर्न नसक्नेहरूलाई वडा–वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो,’ उनले भने।

गाउँपालिकाले माघ २ देखि सुरुवात गरेको वितरणको काम माघ १० गते सकिने छ। उक्त गाउँपालिकामा ८ वडा छन्। व्याक्तिगत घटना तथा सामाजिक सुरक्षा शाखाका प्रमुख दिपेन्द्रप्रसाद उपाध्याय बैंकको पहुँचसम्म पुग्न नसकेको जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई यो कार्यक्रम सुचारु गरिएको बताए। गाउँपालिकाका ५ नम्बर वडाका १ सय १३ जना, ६ नम्बरका एक सय २१ र ७ नम्बरका १ सय ४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरणमा गरिएको उनले बताए।

प्रकाशित: ६ माघ २०८१ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App