५ माघ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलको मन्त्रिपरिषद्‌ले गर्‍यो गाजा युद्धविराम पारित

इजरायल सरकारले गाजामा हमाससँगको नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतालाई आइतबारदेखि लागू हुने गरी स्वीकृति दिएको छ। घण्टौँको छलफलपछि यो निर्णय आएको बीबीसीले उल्लेख गरेको छ। 

सुरक्षा मन्त्रिपरिषदले सम्झौता अनुमोदन गर्न सिफारिस गर्दै यसले युद्धको उद्देश्य पूरा गर्न सहयोग गर्ने तर्क गरेको छ। नेतन्याहुको कार्यालयले सङ्क्षिप्त वक्तव्यमा भनेको छ, ‘सरकारले बन्धकहरूको फिर्तीको लागि ढाँचा स्वीकृत गरेको छ। यो ढाँचा आइतबारदेखि लागू हुनेछ।’ 

नेतन्याहुको मन्त्रिपरिषद्‌ले ४६० दिनको युद्धपछि हमाससँग गाजा युद्धविरामको सम्झौता स्वीकृत गरेको हो। यस युद्धमा अहिलेसम्म पचास हजार मानिस मारिएका छन् भने एक लाख भन्दा धेरै घाइते भएका छन्। शनिबार बिहान छ घण्टाको छलफलमा २४ मन्त्रीहरूले पक्षमा र आठ जनाले विपक्षमा मतदान गरेका थिए। 

पहिलो चरणमा छ हप्ताको युद्धविराममा गाजाका बन्धकहरू र इजरायली जेलमा बन्द प्यालेस्टिनीहरूको आदान–प्रदान हुनेछ। त्यसपछि इजरायली सेना गाजाका जनसङ्ख्या घना क्षेत्रहरूबाट फिर्ता हुनेछन्, विस्थापित प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन्, र दैनिक सयौँ सहायता ट्रकहरू गाजामा प्रवेश गर्न दिइनेछ। 

अमेरिकी वार्ताकार ब्रेट म्याक्गर्कले आइतबार बिहान युद्धविराम सुरु हुने र तीन महिला बन्धक रिहा हुने बताए। सम्झौता अनुसार, थप महिला बन्धकहरू सात–सात दिनको अन्तरालमा रिहा हुनेछन्। 

यसबीच, बुधबारदेखि इजरायली आक्रमण जारी रहादा १२० जना मारिएका थिए। राहत बोकेका ट्रक रफाः नाकामा लाइनमा छन्। १५ महिनादेखि जारी युद्ध समाप्त भएसँगै लाखौँ प्यालेस्टिनीहरू घर फर्किने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ माघ २०८१ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App