२४ पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत: भ्रष्टाचारविरुद्ध लेख्दै आएका पत्रकारको शव सेप्टिक ट्यांकमा फेला

भारत, छत्तीसगढको बिजापुरमा एक स्थानीय पत्रकार मुकेश चन्द्राकरको शव एक सेप्टिक ट्यांकमा फेला परेको छ। २८ वर्षीय चन्द्राकर, जो नयाँ वर्षको पहिलो दिनदेखि हराइरहेका थिए, उनको शव शुक्रबार एक निर्माण ठेकेदार सुरेश चन्द्राकरको आँगनमा भेटिएको थियो।

प्रहरीले मुकेशको मोबाइल फोनको अन्तिम स्थान सुरेश चन्द्राकरको घर नजिकै पत्ता लगाएको थियो। त्यहाँ पुग्दा प्रहरीले नयाँ ढलान गरिएको सेप्टिक ट्यांक फेला पारेको थियो। त्यसलाई खोल्दा मुकेशको शव भेटिएको हो। उनको शरीरमा धेरै चोटहरू देखिएको र टाउको तथा पछाडि भागमा चोट लागेको पुष्टि भएको छ।

मुकेशका दाजु युकेश चन्द्राकर पनि पत्रकार हुन्। उनका अनुसार मुकेश चन्द्राकरले हालसालै बस्तर क्षेत्रमा भएका भ्रष्टाचारहरूको बारेमा रिपोर्टिङ गर्दै आएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार विशेष गरी एउटा सडक निर्माण परियोजनामा भएको भ्रष्टाचारको खुलासा गरेका थिए।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस हत्याको कडा भर्त्सना गर्दै दोषीहरूलाई छिटो पक्राउ गर्ने र कडा सजाय दिने आश्वासन दिएका छन्। यस घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ। प्रहरीले केही सन्दिग्धहरूलाई सोधपुछको लागि हिरासतमा लिएको छ।

प्रकाशित: २० पुस २०८१ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App