दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले अचानक लगाएकाे सैन्य शासनका लागि जनतासँग माफी मागेका छन्। राष्ट्रको नाममा गरेको टेलिभिजन सम्बोधनमा उनले भने, “सैन्य शासन लागू गरेकाेमा मलाई धेरै खेद छ। यसबाट स्तब्ध सबैसँग म इमानदारीपूर्वक माफी माग्न चाहन्छु।”
राष्ट्रपतिले यो सम्बोधनसँगै राजीनामाको घोषणा गर्ने अनुमान गरिएको थियो, तर त्यसबारे बोलेनन्। युनले आफूले गरेको निर्णयपछि स्थिति सम्हाल्न सत्तारुढ दललाई जिम्मेवारी दिने उल्लेख गरेका छन्। तर महाभियोगको विषयमा कुनै पनि टिप्पणी गरेका छैनन्।
गत मंगलबार, युनले राष्ट्र विरोधी शक्तिहरू उठ्न खोजेको भन्दै अचानक सैन्य शासन लागू गरेका थिए। सो निर्णयको चौतर्फि विरोध भएपछि उनले ६ घण्टामा फिर्ता लिनुपरेको थियो। विपक्षी दलले राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने चेतावनी दिएका छन भने उनकै पार्टीका नेताहरुले योलको राजीनामा मागिरहेका छन्।
प्रकाशित: २२ मंसिर २०८१ ०९:४१ शनिबार