दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको विरोध र आलोचना तीव्र भएको छ। अब सत्तारुढ दल पिपुल्स पावर पार्टीका अध्यक्ष हान दोङ–हुनले युनलाई पदबाट हटाउनुपर्ने बताएका छन्।
हानका अनुसार युनले देशका लागि ठूलो खतरा उत्पन्न गरेका छन्। अब उनी राष्ट्रपतिको पदमा रहनु दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम हुने उनकाे भनाइ छ।
हानले युनको कार्यशैलीलाई आलोचना गर्दै भनेका छन्, “नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ।”
हानले थप भने, “यदि युन राष्ट्रपति पदमा रहन्छ भने, दक्षिण कोरिया र यहाँका जनताको लागि भविष्यमा खतरा बढ्न सक्छ।” युनको विवादास्पद निर्णयपछि विपक्षी दलले महाभियोग प्रस्ताव अघि सारेका छन्।
युनले मङ्गलबार राति सैनिक शासनको घोषणा गरेका थिए, जसले विपक्षी र जनतालाई आक्रोशित बनाएको छ। उक्त निर्णयको विरोधमा हजारौँ प्रदर्शनकारी राजधानी सियोलका सडकमा उत्रे, र केही घण्टाभित्र संसद्मा युनको निर्णय उल्टाउने पक्षमा मतदान भयो। यद्यपि, युनले आफ्नो अडान बदल्दै उक्त निर्णय फिर्ता लिन बाध्य भएका थिए।
महाभियोग प्रस्ताव पारित भएमा, युनलाई संवैधानिक अदालतको फैसला नआएसम्म निलम्बन गरिनेछ। यदि अदालतले महाभियोगको पक्षमा फैसला गर्यो भने, युनलाई पदबाट हटाएर ६० दिनभित्र नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्नुपर्छ।
राष्ट्रपतिको राजीनामाको माग गर्दै सियोलमा शनिबार ठूलो प्रदर्शनको आयोजना हुने अनुमान गरिएको छ। सियोल महानगर प्रहरीले शनिबारको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिएकाे छ।
प्रहरीका अनुसार करीब दुई लाख प्रदर्शनकारी सहभागी हुनेछन्। जसकारण, प्रशासनले सियोलको केन्द्र र येओइदो क्षेत्रका केही सडकहरूमा आवत–जावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। एएफपी
प्रकाशित: २१ मंसिर २०८१ १६:०७ शुक्रबार