दश जना नवजात शिशुको मृत्यु हुनेगरी भएको आगलागीले भारत स्तब्ध छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।
साथै, दुर्घटनामा मृत्यु भएका नवजात शिशुको परिवारलाई प्रधानमन्त्री राहत कोषबाट भारु २ लाख रुपैयाँ सहयोग रकम दिइनेछ।
घाइते बालबालिकाले ५० हजार रुपैयाँ सहयोग पाउनेछन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन पनि दिएका छन्। भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले पनि दुःख व्यक्त गरेकी छन्।
उत्तर प्रदेशका प्रमुख विपक्षी दल समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले घटनालाई दुखद भन्दै संलग्न सबैमाथि कारबाही गर्नुपर्ने तर्क गरेका छन्।
उनले मृतक शोक सन्तप्त परिवारहरूलाई एक करोड राहत रकम दिन सरकारसँग माग समेत गरेका छन्। शुक्रबार राति झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो।
आगलागीको घटनामा १६ जना घाइते भएका छन्। ३९ बालबालिकाको उद्धार गरिएको थियो। स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रकाशित: १ मंसिर २०८१ १५:०६ शनिबार