१० कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको राजधानीमा इजरायलद्वारा बमबारी

इजरायलले इरानमाथि हवाई हमला गरेको छ ।  शनिवार बिहानैदेखि इजरायलका सैन्य विमानहरुले इरानको राजधानी तेहरान पुगेर बमबारी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलको बमबारीपछि तेहरानको पश्चिमी क्षेत्रका धेरै धमाकाहरु सुनिएका छन् । आक्रमणबाट क्षतिको विवरण भने खुलेको छैन ।  

इजरायलले यो आक्रमणलाई ‘जवाफी हमला’ भनेको छ । इजरायली डिफेन्स फोर्स(आइडिएफ)का प्रवक्ता डेनियल हगारीले भिडिओ वक्तव्य जारी गर्दै सन् २०२३ अक्टोबर ७ मा हमासको इजरायल आक्रमणपछि इरानले ७ मोर्चामा गरिरहेको लगतारको हमलाको जवाफ भनेका छन् । जसमा इरानले सिधै आफ्नो धर्तीबाट गरेको हमला पनि सामेल छ ।  

‘७ अक्टोबर २०२३पछि इरानको बहालवाला सरकार र उसका साथिहरुले इजरायलमाथि लगातार हमला गरेका छन् । त्यसको जवाफी हमला हो,’ हगारीले भनेका छन् ।  

इजरायलले पहिलो चरणमा इरानका सैन्य क्याम्पहरुमा हमला गरेको जनाएको छ । यसअघि उसले इजरालयका परमाणु अनुसन्धान स्थल र पेट्रोलियम उत्खनन् र भण्डारण क्षेत्रमा आक्रमण गर्नसक्ने अनुमान गरिएको थियो ।  

यस्तै इरानमा बमबारी गरेर आफ्ना विमानहरु सुरक्षित घर फर्किएको पनि आइडिएफका प्रवक्ता हगारीले बताएका छन् । इजरायलले दुनियाँको कुनै पनि सम्प्रभुता सम्पन्न देशजस्तै आफूसँग पनि जवाफ दिने अधिकार रहेको बताउँदै आएको थियो ।

इरानको आकाश बन्द

इजरायलले हवाई आक्रमण गरेपछि इरानले आफ्नो आकाशमा बिहान ११ बजेसम्मका लागि हवाई उडान बन्द गरेको छ । सुरक्षा खतरालाई हेर्दै इरानको नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै आफ्नो आकाश खाली राख्ने सूचना जारी गरेको हो ।  

यता इजरायलले पनि अझै आफ्नो हमला जारी राख्ने अनुमान गरिएको छ । सिएनएनको रिपोर्टअनुसार बिहान उज्यालो भइसक्दा पनि इरानको जमिनमा विष्फोटका आवाज र झिल्का देखिइरहेका छन् ।  

प्रकाशित: १० कार्तिक २०८१ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App