वैज्ञानिकहरूले पश्चिमी चीनको एक हिमनदी (ग्लेसियर) मा १७ सयभन्दा बढी प्राचीन र अपरिचित भाइरस पत्ता लगाएका छन्। पृथ्वीका विभिन्न मौसमी कालखण्डमा समेत संरक्षित रहेका यी भाइरस ४० हजार वर्षअघिका रहेको वैज्ञानिक दाबी छ। पृथ्वीको परिवर्तित जलवायु परिवर्तनसँगै यी भाइरसहरू कसरी अनुकूलित र विकसित भए भन्ने विषय झन् रोचक बनेको छ।
यसैगरी हाल जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको सन्दर्भमा यस्ता भाइरसको संकलन र अध्ययन गर्नेतर्फ तत्काल ध्यान दिनुपर्ने अध्ययनको सुझाव छ। अध्ययनको नतिजा वैज्ञानिक जर्नल नेचर जिओसाइन्समा हालै प्रकाशित भएको हो।
समुद्री सतहबाट २० हजार फिटको उचाइमा रहेको तिब्बतको गुलिया हिमनदी क्षेत्रमा एक हजार फुट गहिराइमा रहेका हिउँको तहको अध्ययनका क्रममा भेटिएका यी भाइरसमध्ये सबैभन्दा पुरानो भाइरस ४१ हजार वर्षअघिको रहेको छ र चिसो मौसमबाट तातोतर्फ रूपान्तरण हुने पृथ्वीका तीन प्रमुख मौसमी संक्रमणकाललाई यो अवधिले प्रतिनिधित्व गर्छ।
गुलिया हिमनदीबाट संकलन गरिएका माइक्रोअर्गानिजमका नमुनाको आनुवंशिक अध्ययनले यस्तो देखाएको हो। अध्ययनको नतिजाले भाइरस र जलवायु परिवर्तनका अन्तरसम्बन्धलाई उजागर गर्ने अध्यननमा संलग्न ओहियो विश्वविद्यालयका वैज्ञानिक झिपिङ झोङ ठान्छन्।
विशेष गरी ११ हजार वर्षअघि अन्त भएको अन्तिम हिउँयुगताका फरक खाले भाइरसको उत्पत्ति भएको थियो। भाइरसको संख्यालाई निर्धारण गर्न वातावरणीय अवस्थाको भूमिका महत्त्वपूर्ण हुने मानिन्छ। ‘विज्ञानले जलवायु परिवर्तनका आधारभूत प्रश्नको उत्तर दिन सक्ने कुरा यो अध्ययनले प्रमाणित गरेको छ,’ अध्ययनका सहलेखकसमेत रहेका तथा ओहियो विश्वविद्यालयमा अर्थ विज्ञान विषयका प्राध्यापक लोनी थोम्सन भन्छन्।
अध्ययनले जलवायु परिवर्तनका वर्तमान र आगामी वर्षमा हुने परिवर्तनले भाइरसको संख्यालाई प्रभावित पार्ने र यसल पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यलाई समेत प्रभाव पार्ने वैज्ञानिक तर्क छ।गुलिया हिमनदीमा पाइएका भाइरस मानव स्वास्थ्यका हिसाबले जोखिमपूर्ण नरहे पनि हिमनदीहरू पग्लने क्रम तीव्र भएका कारण यस्ता भाइरसको संकलन र अध्ययनमा विश्वले तत्काल ध्यान दिनुपर्ने अध्ययनमा संलग्न वैज्ञानिकको राय छ।
‘हिमनदीका हिउँ अत्यन्त महत्त्वपूर्ण वस्तु हुन् र भाइरस तथा माइक्रोबको अनुसन्धान र अध्ययन गर्दा ठुलो मात्रामा हिउँको आवश्यकता पर्दैन,’ झोङले भनेका छन्। विश्वको सरदर तापमान बढ्दै जाँदा हिमनदी र हिउँसहित जमेका माटो र ढुंगा (पर्माफोस्ट) पग्लने क्रममा हिउँको तहभित्र रहेका प्राचीन भाइरस र ब्याक्टेरिया बाहिर निस्कँदा त्यसले वन्यजन्तुलाई असर गर्ने र वन्यजन्तु हुँदै कोभिड १९ महामारीमा भएझैं यी भाइरस मानिसमा पनि सर्न सक्ने वैज्ञानिक तर्क छ।
क्यानडामा रहेका ओटावा विश्वविद्यालयका वैज्ञानिक डा. स्टेफन एरिस ब्रोसाउ र उनको टोलीले हाजेन हिमतालको माटो र थिग्य्रानको अध्ययनका क्रममा हिमनदी पग्लेर बग्ने पानीबाट भाइरस अन्यत्र सर्ने सम्भावना अत्यधिक रहेको देखिएको थियो। पृथ्वीको सरदर तापमान बढ्दो क्रममा रहेकाले यो जोखिम झन् बढेको उनीहरूको तर्क थियो।
तिब्बतको हिमनदीबाट संकलित भाइरस मानवस्वास्थ्यका लागि हानिकारक नभए पनि भविष्यमा हानिकारक भाइरससमेत सार्वजनिक हुन सक्ने चिन्ता वैज्ञानिकको छ। ‘यी भाइरसले निम्त्याउने जोखिमलाई बुझ्न र रोकथाम गर्न नियमित अनुगमन र अनुसन्धान आवश्यक छ,’ गुलिया हिमनदीको अध्ययनमा सहभागी वैज्ञानिकको सुझाव छ।
प्रकाशित: २४ भाद्र २०८१ ०६:५० सोमबार