२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महिलाप्रति थप कठोर बन्दै तालिबान, सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध लगाएको छ।

नयाँ कानून लागु भएसँगै अब अफगान महिलाहरूको जीवन थप सीमित हुने भएको छ।

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले बुधवार नयाँ कानुन जारी गरेको हो।

एक सय १४ पृष्ठको कानुनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ।

मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले भने, ‘हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रर्वद्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ।’  

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनमा उल्लेख छ।

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न समेत निषेध गरेको छ।

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ।

यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी समेत दिइएको छ।

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउदै आएको छ। सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो।

त्यसैगरी सन् २०२२  मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजिओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो।

गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो।

तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ। रासस

प्रकाशित: ९ भाद्र २०८१ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App