४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भए मोहम्मद युनुस

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशमा बन्ने अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए।

तर आन्दोलनरत विद्यार्थीहरूले बंगलादेशमा सेनाको नेतृत्वमा बन्ने अन्तरिम सरकार अस्वीकार्य हुने बताएका छन्।

बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने घोषणा गरेका हुन्।

विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन्,'हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन।,'

उनले सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार नगर्ने उनको भनाइ छ। उनले भनेका छन्,'हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको सरकार स्वीकार गर्दैनौँ।'

उनीहरुले नयाँ अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले गर्नुपर्ने बताएका थिए। 

यहीबीच नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ।

रोयटर्सले उनका प्रवक्तालाई उधृत गर्दै विद्यार्थीहरूले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव युनुसले स्वीकारेको लेखेको छ।

युनुस अहिले फ्रान्सको पेरिसमा सामान्य स्वास्थ्य जाँच गराईरहेको र त्यसपछि उनी बंगलादेश फर्किने भनिएको छ।

८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेका थिए। 

लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो।

गत जुनमा उनीविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए।

प्रकाशित: २२ श्रावण २०८१ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App