२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा ‘आरक्षण’ विरोधी आन्दोलन चर्कंदै: कम्तीमा २५ जनाको ज्यान गयो

आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनका क्रममा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ। यसबाहेक सयौं मानिस घाइते भएका छन्। आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको छ। कैयौं स्थानमा प्रदर्शनकारीहरू प्रहरी बलसँग हिंसात्मक झडपमा आमनेसामने छन्। हजारौं प्रदर्शनकारीले बिहीबार साँझ सरकारी टेलिभिजन बिटिभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए।

बंगालादेशका अधिकांश ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ। आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन्। विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिएको विरोधमा विगत केही दिनदेखि आन्दोलन जारी राखेका छन्।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताको युद्ध लडेकाहरूलाई ‘मुक्ति योद्धा’ भनिन्छ र सरकारी जागिरको एक तिहाइ छोराछोरीका लागि आरक्षित छ। केही दिनयता विद्यार्थीहरूले यसको विरोधमा र्‍याली निकाल्दै आएका छन्। यो आरक्षण प्रणाली भेदभावपूर्ण भएको बरु योग्यताका आधारमा जागिर दिनुपर्ने विद्यार्थीको दलिल छ।

सेख हसिनाको सम्बोधनपछि थप हिंसा भड्कियो

प्रधानमन्त्री सेख हसिनाले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दा उनले के भन्लिन् भन्नेमा सबैको चासो थियो। सँगै आरक्षणविरोधी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको भाषणप्रति कस्तो प्रतिक्रिया जनाउलान् भने कौतूहलता थियो। प्रधानमन्त्री सेख हसिनाले हाल विचाराधीन यो विषयलाई अदालतले ‘न्याय’ गर्ने बताउँदै सर्वसाधारण जनतालाई न्यायिक प्रक्रियामा विश्वास गर्न पनि आग्रह गरेकी थिइन्।

आफूलाई निजी विश्वविद्यालयको विद्यार्थी बताउने अलिम खानले बिबिसी बंगलासँग भने, ‘प्रधानमन्त्रीको भाषण हामीलाई मान्य छैन। उनले आफ्नो भाषणमा आरक्षण खारेजबारे केही भनेकी छैनन्। आन्दोलनकारीसँग वार्ता गर्ने विषय पनि उनले उल्लेख गरिनन्।’

हसिनाको सम्बोधनले आन्दोलनकारीको मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनकारीहरूले ‘पूर्ण बन्द’को आह्वान गरेका छन्। देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन सुरु भएको छ। चाखलाग्दो के छ भने एकातिर आरक्षणको विरोध गर्नेहरू सडकमा उत्रिएका छन् भने अर्कातर्फ सत्तारूढ दलका विभिन्न संघसंस्था पनि सडकमा उत्रिएका छन्।

आन्दोलन झन् हिंसात्मक हुने संकेत

यो आन्दोलन अब आरक्षणविरोधी आन्दोलनमा मात्र सीमित नरहेको कतिपय विश्लेषकको भनाइ छ। धेरै राजनीतिक पर्यवेक्षकहरूले यो आन्दोलन युवा समाजमा बढ्दो आक्रोशको अभिव्यक्ति भनेका छन्।

आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थीहरूले आफ्नो आन्दोलन आरक्षण सुधारको मुद्दामा मात्र सीमित रहेको र यससँग अन्य कुनै मुद्दासँग कुनै सम्बन्ध नरहेको बताएका छन्। करिब दुई साताअघि सुरु भएको आरक्षणविरोधी आन्दोलन सुरुमा शान्तिपूर्ण थियो। सत्तारूढ दलको विद्यार्थी संगठनले यसमा कुनै हस्तक्षेप गरेको छैन। आन्दोलनकारीले पनि यसअघि हिंसाको बाटो रोजेका थिएनन्। तर यो आन्दोलन अचानक हिंसात्मक बन्यो।

राजनीतिक विश्लेषक तथा जगन्नाथ विश्वविद्यालयकी प्रथम महिला उपकुलपति प्राध्यापक सादिका हलिमका अनुसार सुरुमा आन्दोलन विद्यार्थीमा मात्रै सीमित थियो तर जसरी अगाडि बढ्दै गयो, अन्य धेरै मानिस पनि यसमा सामेल भए। त्यसपछि आन्दोलनको स्वरूप परिवर्तन हुन थाल्यो।

(बिबिसी न्युज बंगलाबाट)

प्रकाशित: ५ श्रावण २०८१ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App