७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एक लाख रोजगारीका लागि दुई करोडको आवेदन

नयाँ दिल्ली – विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा दोस्रो नम्बरमा पर्ने दक्षिण एसियाली देश भारतमा बेरोजगारीको अवस्था कति दयनीय छ भनेर एउटा विज्ञापनमा परेको आवेदनले देखाएको छ।

प्रसंग हो, भारतको राज्य सञ्चालित रेलसेवामा गरिएको एक लाख रोजगारीको मागमा परेको झण्डै दुई सय गुणा आवेदन, अर्थात् दुई करोड आवेदन ।भारत सरकारले सञ्चालन गर्ने रेलसेवामा सरकारले आउँदो शनिबारसम्मको समयसीमा दिएर एक लाख पदमा आवेदन माग गरेको थियो, तर मंगलबारसम्ममा नै दुई करोडले आवेदन भरिसकेका छन्।

आवेदन फारम भर्ने समय शनिबारसम्म बाँकी रहेकाले संख्या अझै बढ्नसक्ने भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ ।‘राज्य सञ्चालित रेलसेवामा माग गरिएको एक लाख पदमा दुई करोडभन्दा बढीको आवेदन परिसकेको छ,’ रेल मन्त्रालयका प्रवक्तालाई उधृत गर्दै बिबिसीले जनाएको छ।

रेल सेवाको प्रहरी, रेल चालक र प्राविधिक पदमा माग गरिएको रोजगारीको अनलाइनमार्फत १५ वटा भाषामा परीक्षा हुने रेल मन्त्रालयले बताएको छ । भारतमा करोडौं मानिस बेरोजगार रहेका छन् र भारतीय अर्थतन्त्रमा यो एउटा जटिल समस्यका रूपमा रहेको छ । मध्यम र तल्लो तहको रोजगारीमा हुने यस्तो खालको आवेदनले दुःखी बनाउने अधिकारीहरुले बताएका छन्।

‘कैयौं आवेदक त अति नै दक्ष रहेको र विद्यावारिधि गरेकाले समेत प्राविधिक पदमा दरखास्त दिइरहेका छन्,’ रेलसेवाका अधिकारीलाई उधृत गर्दै ‘इकोनोमिक्स टाइम्स’ पत्रिकाले जनाएको छ।

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाएअनुसार प्राविधिक र रेल इन्जिन चालकको पदमा मात्रै ५० लाखभन्दा बढी आवेदकले दरखास्त दिएका छन् । विश्वको ठूलो रेल सञ्जाल हुने देशमध्ये भारत पनि पर्दछ । भारतीय रेलसेवाले दैनिक दुई करोड ३० लाख भन्दा यात्रुलाई सेवा दिँदै आएको छ । बेलायती औपनिवेशका बेला बनेका अधिकांश रेल सञ्जाल भारतमा सार्वजनिक यातायातको प्रमुख माध्यम हो ।

 

प्रकाशित: १५ चैत्र २०७४ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App