४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हमलामा हिजबुल्लाहका शीर्ष कमान्डर मारिए, बदलामा सयौं रकेट प्रहार

हिजबुल्लाहले उत्तर इजरायलमा दर्जनौं रकेट प्रहार गरेपछि जलेकाे जमिन निभाउँदै इजरायली अग्नि नियन्त्रक। तस्बिर: जला मारे/एएफपी

इजरायली सेना (आइडिएफ) ले लेबनानको हिजबुल्लाहका एक शीर्ष कमान्डरलाई मारिदिएको छ।

आइडिएफले मंगलबार राति लेबनानको दक्षिणी क्षेत्रमा गरेको हवाई आक्रमणबाट हिजबुल्लाहका वरिष्ठ कमान्डर ५५ वर्षीय अबु तलेब भनिने तलेब सामी अब्दुल्लाह मारिएका हुन्। अबु तलेब बाहेक आफ्ना थप तीनजना सदस्य मारिएको हिजबुल्लाहले नै पुष्टि गरेको छ।

तलेब सामी अब्दुल्लाह ।

आक्रमण भएको ठाउँ इजरायलको सीमाबाट करिब १५ किलोमिटर टाढा लेबनानमा रहेको बताइएको छ। लेबनानको जोइया गाउँको एक आवासीय भवनमा अबु तलेब बसेको थाहा पाएपछि आइडिएफले हवाई आक्रमण गरेको थियो। जसबाट उनको मृत्यु भएको हो।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायल इरान समर्थित इस्लामिक समूहमाथि आक्रमण गरिरहेको छ। जसमा इजरायलको निसानामा लेबनानको हिजबुल्लाह पनि परेको हो। जसले बारम्बार इजरायलमाथि हमला गर्दै आएको थियो।

अक्टोबर ७ यता हिजबुल्लाहमाथि गरेको इजरायली आक्रमणबाट मारिने लडाकुको संख्या ३४० पुगिसकेको छ। तीमध्ये अबु तलेब हिजबुल्लाहका सबैभन्दा माथिल्लो स्तरका कमान्डर रहेको भनिएको छ। यसअघि गएको जनवरीमा इजरायलले हवाई आक्रमण गरेर हिजबुल्लाहका सैन्य कमाण्डर विसाम अल ताविललाई पनि मारेको थियो।

मंगलबार मात्रै हिजबुल्लाहले लेबनानको सीमा नजिकै रहेका १० ओटा इजरायली सैनिक बेसमा आक्रमण गर्ने घोषणा गरेको थियो। त्यसलगत्तै इजरायलले हवाई आक्रमण गरेर अबु तलेबलाई मारिदिएको हाे।

यसरी आफ्ना शीर्ष कमान्डरलाई मारिदिएपछि हिजबुल्लाह थप भड्किएको छ। बुधबार बिहान उसले उत्तर इजरायलमा दर्जनौं रकेट प्रहार गरेको छ। इजरायली मिडियाका अनुसार हिजबुल्लाहले करिब सय वटाभन्दा बढी रकेटबाट आक्रमण गरेको छ।

जसले इजरायल र हिजबुल्लाहबीचको तनाव अझै बढ्न सक्ने देखाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App