लिमा – पेरुको न्यायिक निकायका अधिकारीहरूले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन्।
भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन कार्लोस सान्चेजले शनिबार जानकारी दिए।
उनलाई ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोप लगाई अनुसन्धान भइरहेको छ।
पूर्व राष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै बस्न दिइने भएको छ। शनिबार पनि उनलाई त्यहीँ राखेर अनुसन्धान गरिएको छ।
पेरुको संसदमा बुधबारका लागि तय गरिएको उनी विरुद्धको महाभियोगसम्बन्धी दोस्रो चरणको मतदान कार्य सुरु हुनुअघि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिएका थिए।
उनलाई नैतिक रुपमा अयोग्य ठहरगर्दै संसदले बुधबार महाभियोग प्रस्तावमा मतदान गर्ने तयारी गरिरहेको थियो । त्यस अगावै उनले पदबाट राजीनामा दिएका हुन्।
आफू विरुद्ध गरिएको खानतलासीको विरुद्धमा प्रतिक्रिया दिँदै उनले ट्वीटरमा लेख्नु भएको छ, “देशको प्रतिष्ठामा नै आँच आउनेगरी भइरहेका कामकारबाही तत्काल रोक्न म सरकारलाई आग्रह गर्दछु र सञ्चारमाध्यमहरुलाई पनि मेरो यही आग्रह छ।”
उनले आफू डराउनुपर्ने कुनै कारण नरहेको बताउदै भनेका छन्– म डराउनुपर्ने केही कारण छैन र अनुसन्धान अधिकारीहरुलाई मैले सहयोग गर्नछु।
प्रकाशित: ११ चैत्र २०७४ ०९:४७ आइतबार





