हरारे – गत वर्ष सत्ताच्युत भएका जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले दक्षिण अफ्रिकाका कारण आफूले सत्ता त्याग्नु परेको बताएका छन्।
आफूविरुद्ध सेनाले हटाउने षड्यन्त्र गरिरहेको बेला मध्यस्थताका लागि दक्षिण अफ्रिकाले मध्यस्तता समूहलाई पठाउनुभन्दा सेना पठाएको थियो भने आफू पदबाट हट्नु पर्दैनथ्यो भन्दै मुगाबेले दक्षिण अफ्रिकाको भूमिकाप्रति शनिबार असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्ना क्षेत्रीय छिमेकीले धोका दिएका कारण आफूले नेतृत्व छोड्नु परेको जिम्बाब्वेको एक निजी लगानीमा सञ्चालित पत्रिका ‘जिम्बाब्वे इन्डिपेन्डेन्ट’ तथा अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तवार्ताका क्रममा मुगाबेले बताएका छन्।
‘दक्षिण अफ्रिकाबाहेकका मुलुकको अवस्थालाई हेर्नुभयो भने प्रष्ट थाहा हुन्छ कि उनीहरूले जिम्बाब्वेमा हस्तक्षेप गर्नसक्ने अवस्था थिएन,’ ९४ वर्षीय पूर्व राष्ट्रपति मुगाबेकै शब्दलाई अन्तवार्तामा उधृत गरिएको छ।
‘दक्षिण अफ्रिकाले मध्यस्थताका लागि टोली पठाउनुभन्दा सेनालाई पठाउनु पथ्र्यो तर मध्यस्थता मात्र गरियो,’ उनले बताए।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि सन् १९८० देखि नै जिम्बाब्वेको सत्ता सम्हालेका मुगाबे सेनाले प्रत्यक्ष शासनसत्ता सम्हालेपछि र आफ्नै दल जिम्बाब्वे अफ्रिकी राष्ट्रवादी समूहका सांसदले महाभियोगको प्रस्ताव अघि सारेपछि सरकार र दलको नेतृत्वबाट बाहिरिएका थिए। मुगाबेले सत्ता छोड्नुभन्दा केही साता पहिले बर्खास्त गरेका सेनाको विश्वासपात्र उपराष्ट्रपति एमरसन नानगाग्वाले उनलाई विस्थापित गरेका थिए। उपराष्ट्रपति नानगाग्वालाई सत्ता हस्तान्तरण गर्नुको साटो मुगाबेले आफ्नै जीवन संगिनी ग्रेसलाई नेतृत्व हस्तान्तरणका लागि बाटो खुला गर्न पदबाट हटाएको भन्दै त्यसबेला उनको व्यापक आलोचना भएको थियो।
दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति ज्याकोब जुमाले मुगाबे र सेनाबीचको संकट समाधानमा मध्यस्थता गर्नका लागि रक्षामन्त्री मापिसा काकुला तथा सुरक्षा मन्त्री बोङ्गानी बोङ्गोलाई त्यसबेला जिम्बाब्वे पठाएका थिए।
मुगाबेले आफू एक सय वर्षसम्म पनि शासन गर्नसक्ने बताउँदै आए पनि उनकै शब्दमा सैनिक विद्रोहका कारण पदच्युत हुनुपरेको थियो। हाल मुगाबे सार्वजनिक रुपमा विरलै देखिने गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।
प्रकाशित: ११ चैत्र २०७४ ०३:०४ आइतबार





