२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानी राष्ट्रपति रईसीको मृत्युः दुर्घटना वा सुनियोजित योजना ?

ईरानका राष्ट्रपति इब्राहिम रईसीको मृत्युपछि विश्व समुदायबाट विभिन्न टिका टिप्पणी हुन थालेको छ। आइतवार हेलिकप्टर दुर्घटनामा परेका राष्ट्रपति रईसीको सोमवार मात्रै मृत्यु भएको पुष्टि ईरानी समाचार संस्थाहरूले गरेका छन्। उनको मृत्युलाई विश्व समुदाय र ईरानले पनि विभिन्न कोणबाट नियाल्न थालेको छ।

अजरबैजानसँग सम्बन्ध सुधार गर्दै दुबै मुलुकले संयुक्त रुपमा ड्याम निर्माण गरेको थियो। जसको उद्घाटनका लागि राष्ट्रपति रईसी र विदेशमन्त्री हुसैन अब्दुल्लाहयान ३ वटा हेलिकप्टरसहित अजरबैजान गएका थिए। ड्याम उद्घाटन पछि राष्ट्रपति रईसीसहितको टोली आइतवारै ईरान फर्किने क्रममा दुर्घटनामा पर्‍यो। तर, उनको सुरक्षार्थ गएको २ वटा हेलिकप्टर भने सकुशल ईरान फर्कियो। हेलिकप्टर दुर्घटनामा राष्ट्रपपति रईसी, विदेशमन्त्री हुसैनसहित ९ जनाको मृत्यु भएको छ।

राष्ट्रपति रईसी सवार हेलिकप्टर मात्रै दुर्घटनामा कसरी पर्यो भन्ने विषयमा अब बहस सुरु भएको छ।

ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।

ईरानको कसाई भनेर चिनिने ६३ वर्षीय राष्ट्रपति रईसी सन् २०२१ जुनमा ईरानका राष्ट्रपति बनेका थिए। १९८८ मा ईरान–इराक युद्धको अन्त्यमा रईसी एक समितिका सदस्य थिए। जसले हजारौँ राजनीतिक कैदीहरूलाई मृत्युको सजाय सुनाएको थियो। हजारौँको सङ्ख्यामा मानिसलाई मृत्युदण्ड दिएपछि उनलाई तेहरानको कसाई भन्न थालियो।

राष्ट्रपतिमा निर्वाचित रईसीलाई ईरानी विपक्षी समूह र पश्चिमा मुलुकले खासै रुचाएको थिएन। पछिल्लो समय चीन र पाकिस्तानसँग नजिकिँदै गएको ईरानले हमासको समर्थन गर्दै आएको थियो। जुन अमेरिका र अन्य पश्चिमा मुलुकलाई चित्त बुझेको थिएन। त्यति मात्र होइन ईरानले पछिल्लो समय हमाससँग युद्धमा रहेको इजराइलमाथि मिसाइल आक्रमण समेत गरेको थियो। अमेरिकाको चेतावनीका बाबजुद ईरानले इजराइलमाथि आक्रमण गर्दा इजराइलले पनि जवाफी कारबाही गरेको थियो।

इजराइलसँगको युद्धमा हमासको खुलेरै समर्थन गर्दै आएको ईरानले इजराइललाई हराउन परमाणु आक्रमण गर्न सक्ने अनुमान पनि गर्न थालिएको थियो।

इजराइलको समर्थनमा रहेको अमेरिकाले ईरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनलाई गम्भीरताका साथ नियाली रहेको बताएको छ। अमेरिकी संसदका वरिष्ठ प्रजातन्त्रवादी सांसद चक शूमरले हालसम्म कुनै योजना अनुसार रईसीको हेलिकप्टर दुर्घटना गराइएको जस्तो नदेखिएको बताएका छन्। उनले मौसम खराब भएका कारण हेलिकप्टर दुर्घटनामा परेको हुन सक्ने पनि बताए।

यता, ईरानी राष्ट्रपति सवार हेलिकप्टर अमेरिकामा बनेको बुझिएको छ। १९ घन्टादेखि उद्दार र हेलिकप्टरको खोजीमा रहेको टोलीले राष्ट्रपति सवार बेल २१२ हेलिकप्टर टेक्सट्रन इंकद्वारा अमेरिकामा बनेको पुष्टि गरेको हो। उक्त हेलिकप्टरलाई शक्तिशाली र निकै विश्वसनीय मानिन्छ। अमेरिका र क्यानडाले हतियार ओसारपसार गर्न, आगलागी नियन्त्रण गर्न, राहत तथा उद्धारका लागि प्रयोग गर्दै आएको उक्त हेलिकप्टरलाई ईरानमा विशेष तयारीका साथ राष्ट्रपतिका लागि बनाइएको थियो।

अधिकांशले उक्त दुर्घटनलाई मौसम खराबीका कारण भएको हुन सक्ने बताएका छन् भने कतिपयले यसलाई सुनियोजित योजना अनुसार गराइएको बताएका छन्।

विभिन्न सामाजिक सञ्जालमा पनि अमेरिकाले नै ईरानी राष्ट्रपतिको हत्या गराएको हुन सक्ने आँकलन गर्न थालेका छन्।

प्रकाशित: ७ जेष्ठ २०८१ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App