२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ

दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेकी छिन्।

बुधवार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित समेत गराइएको छ।

मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले बताइन्।

संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको उक्त मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ।

राष्ट्रपति सिरिल रामाफोसा र उनका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिएकी हुन्।

उनीमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको छ।

मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख र्‍याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ मागेका थिए।

न्यायाधीशले ५० हजार र्‍यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गरेका छन्। रासस

प्रकाशित: २३ चैत्र २०८० ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App