२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्रोहमा असफल तर प्रेरणाका स्रोत

एक आदि विद्रोही स्पार्टाकस

क्रान्ति वा विद्रोह अधिकांशतः निजी मामिला हुन्छ। नहुँदो हो त त्यसले बृहत् आकार लिनै सक्दैन। महात्मा गान्धी जब बेलायतबाट ब्यारिस्टर पढेर फर्के, उनी दक्षिण अफ्रिकामा कामका लागि पुगेका थिए।

रेलमा चढ्न खोज्दा उनलाई रेलकर्मीहरूले कालाहरूले चढ्ने ठाउँ होइन भनी धकेलेर लडाए। यस घटनापछि उनलाई लाग्यो, विदेशी शिक्षा लिएर मात्र नपुग्ने रहेछ, बराबरीको अधिकारका लागि नलडी नहुने रहेछ।

दक्षिण अफ्रिकी मुक्ति संग्राममा नेल्सन मन्डेला होमिनुका पछाडि उनको पारिवारिक बिरासतले घच्घच्याएको थियो। नेपालमै पनि बिपी कोइराला राणाविरुद्धको आन्दोलनमा लाग्नुका पछाडि उनीहरूका पिता कृष्णप्रसादको सर्वस्वहरण हुनु र गरिबीमा जीवन बिताउनुपर्ने अवस्था आउनु थियो।

भनिन्छ, हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालभित्र विद्रोहको बीजरोपण त्यो दिन भयो, जब उनको घरबाट स्थानीय मुखियाले गोठबाटै भैंसी उठाइदिए। उनका बुवाले अनुनयविनय गर्दागर्दै छातीमा लात्ती बजारेर भैंसी लगेका दिनदेखि उनको मनमा विद्रोह जन्मिएको थियो।

 यी र यस्तै घटनाबाट कुनै विप्लव हुन्छ, आन्दोलन मच्चिन्छ। जहाँ क्रान्ति हुन्छ, त्यहाँ ज्यादै निजी घटनाले भूमिका खेलिरहेको हुन्छ। एक हिसाबले भन्ने हो भने ‘रिभोल्ट इज टु पर्सनल!’

तपाईंले नेपाली क्रान्तिका अनेक कथा सुन्नुभयो होला। एउटा प्राचीन इतिहासमा यस्तै निजी गाथा गाँसिएको एउटा कथा आज म सुनाउँदैछु। हुन त मैले सुनाइरहेको यो कथा प्राचीन रोमन इतिहासमा रुचि राख्ने सबैले सुनिसक्नुभएको हुन सक्छ।

स्पार्टाकसको यो कथा कतिपयले त ‘स्पार्टाकसु टेलिभिजन शृंखलामा पनि हेसिसक्नुभएको होला। स्पार्टाकस यति प्रभावशाली पात्र हुन् कि हलिउडले सन् ६० कै दशकमा बहुचर्चित फिल्म बनाइसकेको छ।

ती सबैको आधार भनेको होवार्ड फास्टद्वारा लिखित उपन्यास’ स्पार्टाकसु नै हो। उनले सो उपन्यास नलेखेका भए र त्यसमा आधारित प्रख्यात फिल्म नबनेको भए धेरैका लागि यी पात्र त्यति परिचित नहुन सक्थे, इतिहासका अन्य धेरै विद्रोहीजस्तै उनी पनि सानो समूहबीच मात्र चर्चामा हुने थिए।

हुन त एकादुईले त्यसअघि पनि विद्रोह गर्न नखोजेका होइनन् तर सत्ता नै धर्मराउने गरी, सारा साम्राज्यलाई नै थर्कमान बनाउने गरी विद्रोह भने त्यसअघि भएको थिएन। कतिसम्म भने एकसाथ ६ हजारभन्दा बढी लडाकु दस्ता रोमको सत्ता हल्लाउने गरी अघि बढेको थिएन।

ज्ञात इतिहासमा यसरी पहिलोपटक विद्रोह गर्ने स्पार्टाकस अहिले पनि हिम्मत, साहस र चुप नबस्ने उनको अठोटका कारण चर्चित छन् र धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

को हुन् त स्पार्टाकस?

स्पार्टाकसको जन्म इसापूर्व ७३ देखि ७१ को अवधिमा भएको मानिन्छ। उनी जन्मँदा स्वतन्त्र व्यक्ति थिए। कलिलै उमेरमा उनलाई जबर्जस्ती दास बनाइयो र बाँच्ने उपक्रमका लागि उनी ‘ग्लाडिएटर’ बने। ग्लाडिएटरका केही निश्चित काम हुन्थे।

पहिलो, धनीमानीहरूको मनोरञ्जनका लागि दरबारिया स्त्रीहरूको साथी बन्नुपर्ने। दोस्रो, उनीहरूलाई मनोरञ्जन दिलाउन आफ्नै साथीहरूसँग तरबारबाजीजस्ता खुनी खेलसमेत खेल्नुपर्ने। तेस्रो, युद्धका बेला पनि ज्यानको बाजी थापेर सहभागी हुनुपर्ने।

त्यतिबेला थ्रेस भन्ने ठाउँमा उनी बस्थे। त्यहाँ रोमका सेना प्रमुखमध्ये एक मार्कस लिसिनियस क्राससको मातहतमा काम गर्ने स्थानीय धनिक लेन्टुलस बाटियाटसको दरबारुमा स्पार्टाकसको कठोर जीवन चलिरहेको थियो।

एउटा कथनले भन्छ, ‘उनी स्वतन्त्र भएकाले सधैं आफ्ना मालिकसँग स्वतन्त्रताका लागि माग गरिरहन्थे र उनलाई क्राससले पनि स्वतन्त्रता दिने वाचा गरेका थिए तर पूरा गरेनन्।’

त्यसपछि उनले आफ्ना साथी ग्लाडिएटरहरू भेला पारेर स्वतन्त्रताको लडाइँ लड्ने निधो गरे। उनलाई धेरैले साथ पनि दिए। एक दिन बाटियाटसको दरबारमा रमाइलो भइरहेका बेला साथीहरूसहित स्पार्टाकस छिरे।

उनले सबै अतिथि, बाटियाटसका आफन्त र स्वयं बाटियाटस र उनकी पत्नीको समेत हत्या गरिदिए। (केहीले बाटियाटस भागेको पनि भनेका छन्।) त्यो सहरका लगभग सबै उच्च वर्गीय परिवार सखाप पारेर स्पार्टाकसले सबै उत्पीडितलाई मुक्ति दिए।

यो विद्रोहप्रति त्यो बेलाको शक्तिशाली रोम चुप लागेर बस्ने कुरा थिएन। यो आकलन स्पार्टाकसलाई पनि थियो। त्यसैले साथीहरूको साथ लिएर उनी रोमविरुद्ध भिड्न तत्पर भए।

 रोमको एउटा विशाल सेना विद्रोह दबाउन अघि बढ्यो। जब स्पार्टाकस र रोमन जनरल क्राससबीच आमनेसामने भयो, एउटा खुनी युद्धको वातावरण बन्यो। तर स्पार्टाकसले भने, ‘मेरा साथीहरू घाइते होऊन् भन्ने चाहन्नँ। तिमी मलाई हराऊ र विद्रोह दबाऊ। मैले जितें भने म रोम हान्न निस्कनेछु।’

यसमा क्रासस सहमत भए। एउटा घमासान तरबारयुद्ध भयो। जसमा स्पार्टाकसको अवसान भयो।

स्पार्टाकससँग निस्केको एउटा सानो समूहलाई क्राससले बन्दी बनायो। भागेका बाँकी ६ हजारभन्दा बढी दास तथा ग्लाडिएटरहरूको समूहसँग भिड्न खटिएका रोमका अर्का जनरल पोम्पेईले भने भगौडाहरूलाई छानीछानी र खेदीखेदी हत्या गरेको प्रसंग छ।

असफल विद्रोहका बाबजुद न्याय र स्वतन्त्रताका लागि स्पार्टाकस एउटा प्रेरणाका स्रोतका रूपमा अझै संसारभरि सम्झना गरिने ऐतिहासिक पात्र हुन्।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App