२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदूषण घटाउन पार्किङ शुल्क तीन गुणा बढाइने

पार्किङ प्रकरण

पेरिसको सडकमा एक एसयुभी। तस्बिर: रोयटर्स

वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।

पेरिसका मेयरको प्रस्तावमा आइतबार सम्पन्न मतदानमा हेभी तथा प्रदूषक गाडीलाई विशेष पार्किङ शुल्क लगाउने अथवा नलगाउने भन्ने विषयमा मतदातालाई एउटा रोज्न भनिएको थियो।

१० लाख पेरिसवासी मतदानका लागि योग्य रहेकोमा ७८ हजारले सहभागिता जनाए। मतदातामध्ये ५४.५५ प्रतिशतले यो शुल्क बढाउनुपर्छ भन्ने पक्षमा मतदान गरे। विशेषगरी सहरबाहिरबाट आउने गाडीलाई नियन्त्रण गर्ने उद्देश्य यो मतदानले राखेको थियो।

अब पेरिसमा १.६ मेट्रिक टनभन्दा बढी तौल भएका कार्बन उत्सर्जन गर्ने अथवा हाइब्रिड गाडी र दुई टनभन्दा बढी तौल भएका इलेक्ट्रिक गाडीले प्रतिघन्टा १९ अमेरिकी डलर पार्किङ शुल्क तिर्नुपर्नेछ। अन्य कारको हकमा यो शुल्क प्रतिघण्टा ६.४० अमेरिकी डलर तोकिएको छ।

पेरिस नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कुल गाडीको बिक्रीमा एसयुभी गाडीको हिस्सा ४० प्रतिशतमा उक्लेको र यसबाट वातावरण, सडक सुरक्षा तथा सार्वजनिक स्थानको समतामूलक साझेदारितामा प्रश्न उठेको जनाइएको छ। त्यसो त एसयुभीको बिक्री विश्वभर बढ्दो क्रममा छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार सन् २०२२ मा बिक्री भएका कुल गाडीमा एसयुभीको हिस्सा झन्डै आधा छ। विशेषगरी अमेरिका, भारत र युरोपमा यसको बिक्री अत्यधिक छ।

ठुला खाले यस्ता गाडीको बिक्री तथा प्रयोगले जलवायु परिवर्तनमा समेत प्रभाव परेको छ। यी गाडीको उत्पादनमा अत्यधिक संसाधनको मात्र खर्च हुँदैन, यस्ता गाडीले इन्धनको उपभोग पनि बढी गर्छन्।

विश्वका सडकमा गुड्ने ३३ करोड यस्ता एसयुभीले सन् २०२२ मा एक अर्ब टन कार्बन उत्सर्जन गरेका छन्। यी एसयुभीलाई कुनै देश मान्ने हो भने विश्वमा अत्यधिक कार्बन उत्सर्जन गर्ने १० प्रमुखमध्ये त्यो देश हुने देखिन्छ।

आइइएका अनुसार पछिल्ला वर्षमा इलेक्ट्रिक गाडीको बिक्री बढे पनि जीवाश्म इन्धनमा आधारित गाडीले गर्ने उत्सर्जन कटौतीमा उल्लेख्य प्रगति हुन सकेको छैन।

मतदानको नतिजालाई स्थानीय निकायले अनुमोदन गरेपछि आगामी सेप्टेम्बर १ देखि यो व्यवस्था लागु हुनेछ। पेरिसका मेयर एने हिडाल्गोले इकोलोजी, सडक सुुरक्षा तथा सार्वजनिक स्वास्थ्यसँग जोडिएको यो विषयमा प्राप्त मतप्रति आभार व्यक्त गरेकी छन्। ‘हाम्रा कैयन् पिँढीले स्वस्थ वातावारणमा बाँच्न पाउने अधिकारलाई पेरिसले अनुमोदन गरेको छ,’ उनले भनिन्।

विगत वर्षदेखि उनले ट्राफिक घटाउन, सहरमा पैदलयात्रीको हितलाई सुनिश्चित गर्न तथा नदीकिनारमा कार पार्किङ निषेध गर्न तथा सहरमा साइकल लेन बढाउने कार्य गर्दै आएकी छन्।

गत वर्ष मतदाताले इलेक्ट्रिक स्कुटर भाडामा लगाउने व्यवस्थाको विरोधमा मतदान गरेका थिए। सहरमा भिडभाड घटाउने उद्देश्यले गरिएको सो मतदानको प्रस्तावक पनि मेयरको कार्यालय नै थियो।

एसयुभी गाडीको पार्किङ शुल्क बढाउन गरिएको पछिल्लो मतदानप्रति फोर्टी मिलियन मोटरिस्टलगायत कार एसोसिएसनले विरोध गरेका छन्।

‘गाडीको आकारलाई लिएर भएको यो मतदान स्वतन्त्र आवागमनको अधिकारविरुद्ध छ,’ फोर्टी मिलियन मोटरिस्टले सामाजिक सञ्जाल एक्समा भनेको छ। जलवायु परिवर्तन यो क्षेत्रको सांस्कृतिक युद्धको प्रमुख विषय बनिरहेका बेला युरोपेली देशले अवलम्बन गरेका कतिपय हरित नीति विवादास्पद छन्।

(क्रिस लियाकोस/सिएनएन)

प्रकाशित: २३ माघ २०८० ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App