४ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको आक्रमणबाट किभमा १३ जनाको मृत्यु, ४० घाइते

युक्रेनको राजधानी किभमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। 

युक्रेनी प्रधानमन्त्रीका अनुसार आक्रमणका क्रममा राजधानीका विभिन्न क्षेत्रमा रहेका आवासीय भवन, गोदाम, विद्यालय तथा बाल अस्पतालमा क्षति पुगेको छ। राज्य आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखिएको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको अभावका कारण ठूलो मानवीय क्षति भएको बताएका छन्।

उनका अनुसार पश्चिमी सहयोगी राष्ट्रबाट पर्याप्त हवाई प्रतिरक्षा सहायता नआएसम्म रुसले आफ्नो आक्रमणलाई निरन्तरता दिनेछ।

टेलिग्राममार्फत उनले लेखेका छन्, ‘जबसम्म युक्रेनसँग पर्याप्त एन्टी–ब्यालिस्टिक क्षमता हुँदैन, रुसले शान्तिको विषयलाई गम्भीरतापूर्वक लिने छैन। प्याट्रियट प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्र अझै पर्याप्त रूपमा उपलब्ध गराइएको छैन। प्रत्येक थप क्षेप्यास्त्रले हाम्रा नागरिकको जीवन बचाउन सक्छ।’

किभका मेयर भिटाली क्लिट्स्कोले ध्वस्त अपार्टमेन्ट भवनको अवलोकन गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग थप सहयोगको अपिल गरे। उनले भने, ‘हामीलाई गोला–बारुद र आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको अत्यन्त आवश्यकता छ। हाम्रा साझेदारहरूको सहयोग अहिले सबैभन्दा महत्त्वपूर्ण छ।’

युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्कोले युक्रेन अहिले ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणबाट ‘पूर्ण रूपमा असुरक्षित’ रहेको बताए।

उनले भने, ‘इन्टरसेप्टर क्षेप्यास्त्रबिना हामी केही गर्न सक्दैनौं। रुसले यही अवस्थाको फाइदा उठाउँदै पूर्वाधारहरू नष्ट गरिरहेको छ। हामी हरेक दिन मानिसहरू गुमाइरहेका छौं।’

युक्रेनी वायुसेनाले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार रुसले रातभर १६८ वटा ड्रोन र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

तीमध्ये १४६ वटा ड्रोन र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिए पनि प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई भने रोक्न नसकिएको जनाइएको छ।

रुसी रक्षा मन्त्रालयले भने हवाई, जमिन तथा समुद्री माध्यमबाट सैन्य सुविधा र गोदामहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

उता रुसको रक्षा मन्त्रालयले पनि देशका विभिन्न क्षेत्रमा गरिएको युक्रेनी आक्रमणका क्रममा ७२६ वटा ड्रोन खसालिएको दाबी गरेको छ।

प्रकाशित: ४ भाद्र २०८३ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App