२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी अर्थतन्त्रमा बोझ बन्दै बुढाबुढी

जापानमा १० प्रतिशत जनसंख्या ८० वर्ष वा सोभन्दामाथिको उमेर समूहअन्तर्गत रहेको त्यहाँको सरकारले जनाएको छ। वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको जापानमा पछिल्लो तथ्यांकले जनसंख्यागत संकट झन् गहिरिने र त्यसले अर्थतन्त्र र समाजमा ठुलो प्रभाव पार्ने देखिएको छ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जापानमा ६५ वर्ष उमेरमाथिको जनसंख्या २९.१ प्रतिशत रहेको छ। यस आधारमा यो उमेर समूहको जनसंख्या विश्वमै सर्वाधिक रहेको देश जापान भएको छ।

उमेर पुगेकालाई सम्मान गर्ने दिन (रेस्पेक्ट फर द एज्ड डे) का अवसरमा जापानको गृह मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो। यस दिन जापानमा सार्वजनिक बिदा दिने गरिएको छ।

जापानमा जन्मदर कम हुँदा आर्थिक रूपमा सक्रिय जनसंख्या कम छ भने सरकारले वृद्धवृद्धाका लागि पेन्सन र अन्य स्वास्थ्य सुविधामा ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ। सन् १९८० को दशकताका आर्थिक चमत्कार गरेको जापानमा पछिल्ला केही दशकमा जनसंख्यामा ह्रास आइरहेको छ।

आप्रवास नभएको अवस्थामा स्थिर जनसंख्याका लागि प्रजनन दर २.१ हुनुपर्नेमा जापानमा यो दर १.३ मात्र छ। पछिल्लो एक दशकमा जन्मदरभन्दा मृत्युदर अत्यधिक छ। यसले विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको देश जापानको नेतृत्व सामु ठुलो चुनौती खडा भएको छ।

विश्वमा सबैभन्दा अधिक सरदर उमेर भएको राष्ट्र जापान एक हो। वृद्धवृद्धाको संख्या अत्यधिक भएपछि जापान सरकारले अर्थतन्त्रलाई चलायमान पार्न बुढापाका र घरमै बसेका आमाहरूलाई काममा फर्काउन थालेको छ। जापानमा कुल कामदार संख्याको १३ प्रतिशत ६५ वर्ष उमेर समूहमाथिको छ।

वृद्धवृद्धालाई काममा फर्काउँदा पनि जनसंख्यागत संकटले निम्त्याउने सामाजिक तथा आर्थिक प्रभावलाई निस्तेज पार्न जापान असफल हुने देखिएको छ। गत जनवरीमा जापानका प्रधानमन्त्री फुमिओ किसिदाले सामाजिक कार्यहरू गर्न नसक्ने बिन्दुमा जापान पुगेको बताएका थिए।

जापान मात्र होइन, जापानका छिमेकी देशहरू चीन, दक्षिण कोरिया, सिंगापुर र ताइवानमा समेत यस्तै समान प्रकृतिको संकट देखिएको छ। यी देशहरूले उमेर पुगेका युवालाई अधिक सन्तान जन्माउन प्रोत्साहन गरेका छन्। जीवनयापनमा लाग्ने अत्यधिक खर्च र सामाजिक असन्तोषका कारण यी देशका युवा बढी सन्तान जन्माउन इच्छुक देखिँदैनन्।

–सिएनएन

प्रकाशित: ३ आश्विन २०८० ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App