२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता?

तस्बिर सौजन्य: इपिए

माओत्से तुङ ‘शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने गर्थे। अर्काे शब्दमा सैन्य शक्तिलाई नियन्त्रण गर्न सक्नु कुनै पनि नेताको सफलताका लागि महत्वपूर्ण हुन्छ। चीनका वर्तमान राष्ट्रपति सी चिनफिङले पनि माओत्से तुङको अवधारणालाई आत्मसात् गर्दै पिपुल्स लिबरेसन आर्मी (पिएलए) लाई आमूल परिवर्तन गरी झन्डै एकछत्र अधिकार स्थापित गरेका छन्। तर यो आमूल परिवर्तनले फल दिने बेलामा पिएलएको उच्च नेत्तृत्व तहले समेत यो शक्तिको लड्न सक्ने क्षमता र राष्ट्रपति सीको नेतृत्वमा प्रश्नचिह्न उठाएको छ।

अघिल्लो साताको अन्त्यदेखि चीनको रक्षामन्त्री र स्टेट काउन्सिलरसमेत रहेका ली साङफु बेपत्ता छन्। गत मार्चमा उक्त पदमा नियुक्त भएका ६५ वर्षीय लीलाई केही समयअघि सोधपुछका लागि गिरफ्तार गरिएको थियो। उनी पछिल्लो दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

सेप्टेम्बर ७ र ८ तारिखमा भियतनामका रक्षा अधिकारीहरूसँग भएको वार्षिक बैठकमा सहभागी हुने सूचीबाट अन्तिम क्षणमा उनको नाम काटिएको थियो। चिनियाँ अधिकारीहरूले ‘स्वास्थ अवस्था’ का कारण ली उक्त बैठकमा अनुपस्थित भएको बताएका थिए।

ली बेपत्ता भएयता चीन सरकारले यस विषयमा कुनै सार्वजनिक जानकारी दिएको छैन। विदेश मन्त्रालयकी एक प्रवक्ताले नियमित ब्रिफिङमा यस विषयमा आफू जानकार नभएको बताएकी छन्।

विदेशमन्त्री बेपत्ता वा पदमुक्त भएको समाचार सही भएमा ६ वर्षयता चीनको केन्द्रीय सैन्य आयोगका सदस्यलाई भएको पहिलो कारबाही हुनेछ। मिलिटरी कमिसनले राष्ट्रपति सीको नेतृत्वमा चीनको सैन्य शक्तिलाई नियन्त्रण गर्दछ। पछिल्लो कारबाही र संकट चीनको पारम्परिक तथा आणविक शक्तिलाई समेत नियन्त्रण गर्दै आएको ‘रकेट फोर्स’भन्दा बाहिर पुगेको मानिएको छ।

गत जुलाईमा ‘रकेट फोर्स’का जनरल ली युचाओ र राजनीतिक कमिसार झु जोङ्घोलाई अकस्मात् पदमुक्त गरिएको थियो। यसो किन गरिएको भनेर कुनै कारण दिइएको थिएन। तर उनीहरूविरुद्ध भ्रष्टाचार अथवा सैन्य गोपनीयता चुहाएको आरोप लगाइएको मानिएको छ।

यसैगरी गत सेप्टेम्बर १ तारिखमा अलि कम हैसियतका पिएलएको सैनिक अदालतका अध्यक्ष मेजर जनलर चेङ डोङफाङलाई पदमुक्त गरिएको थियो। नियुक्तिको आठ महिनामै उनलाई पदमुक्त गरिएको थियो। यो कारबाहीका लागि पनि कुनै कारण दिइएन।

पेकिङ विश्वविद्यालयका स्नातक मेजर जनलर चेङ त्यसअघि पिएलएको कानुनी विभागका प्रमुख र हङकङमा रहेको पिएलए ग्यारिसनका प्रवक्ता थिए। यी चारैजना उच्च जनरलको नियुक्तिका लागि राष्ट्रपति सीको अनुमोदन आवश्यक पर्छ।

यी अधिकारीहरूको पतनले राष्ट्रपति सीको निर्णय क्षमता र व्यक्तिपरख गर्ने क्षमतामा प्रश्न उठेको छ। हालै चीनका परराष्ट्रमन्त्री क्विन ग्याङलाई अकस्मात् हटाइएको थियो। डिसेम्बरमा नियुक्त भएका उनलाई पदमुक्त गर्दा स्वास्थ्य अवस्थाको कारण दर्साइएको थियो।

पछिल्ला दिनमा हटाइएका चारैजना जनरल ‘रकेट फोर्स’सँग जोडिएका थिए। आणविक हतियारलाई स्तरीकरण गर्ने उद्देश्यले पछिल्ला वर्षमा ‘रकेट फोर्स’का लागि बजेट विनियोजन ह्वात्तै बढेको थियो। ठुलो सैनिक खर्चमा ठुलै भ्रष्टाचार नभए पनि केही दुरूपयोग भएको हुन सक्ने मानिएको छ।

राष्ट्रपति सीले रकेट फोर्समा नयाँ नेतृत्व यसअघिको संरक्षित ‘नेटवर्क’भन्दा बाहिरको व्यक्तिलाई छानेका छन्। संरक्षित नेटवर्कमा रहेका व्यक्तिहरूले विगतमा भ्रष्टाचार गरेको सन्दर्भमा यो पदमा नियुक्त गरिएका कमान्डर जनरल वाङ हाउविन नौसेना अधिकारी हुन्। यसैगरी रकेट फोर्सका नयाँ राजनीतिक कमिसार झु सिसेङ हवाईसेना पृष्ठभूमिका हुन्।

रक्षामन्त्री र स्टेट काउन्सिलर ली पदमुक्त हुनुको कारण उनी हतियार विकास तथा खरिद प्रक्रियामा लामो समयदेखि संलग्न रहेको र यो विषय भ्रष्टाचारसँग सिधा जोडिएको मानिएको छ। प्रशिक्षणका हिसाबले इन्जिनियर रहेका लीले भूउपग्रह प्रक्षेपण केन्द्रमा तीन दशकसम्म काम गरेका थिए। उनी सोही केन्द्रको निर्देशक पनि बनेका थिए।

सन् २०१७ देखि सन् २०२२ सम्म लीले चीनको केन्द्रीय सैन्य आयोगको उपकरण खरिद विभागको नेतृत्व गरेका थिए। रुससँग लडाकु विमान र मिसाइल निर्माणका लागि आवश्यक सरसमान खरिद गरेको अभियोगमा सन् २०१८ मा अमेरिकाले उनलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। सोही वर्षको जुलाईमा उपकरण खरिद विभागले सन् २०१७ यताको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको थियो। तर यो मामिलामा अन्य कारण पनि हुन सक्ने देखिएको छ। राष्ट्रपति सीको निर्देशनको अवज्ञा भएको पनि हुन सक्ने मानिएको छ।

रक्षामन्त्रीको हैसियतमा लीलाई सैनिक ‘अपरेसन’भन्दा पनि अन्य देशसँगको सैनिक सम्बन्ध बनाउने जिम्मा थियो। यो सन्दर्भमा उनको पदमुक्तिले पिएलएको लडाकु क्षमतामा खासै प्रभाव नपार्ने मानिएको छ। तर यसले पिएलएभित्रको नैतिक बल, देशभित्र र बाहिर सैन्यशक्तिको छबिमा नराम्ररी आघात परेको छ।

पिएलएमा हुने व्यापक भ्रष्टाचार र यो निकायको निष्प्रभावकारीताका लागि राष्ट्रपति सीअघिको नेतृत्वलाई जिम्मेवार मान्न सकिएला तर यो निकायलाई सानो तथा सुदृढ पार्न राष्ट्रपति सीले पनि सफलता हासिल गर्न सकेका छैनन्।

यस्तो अवस्थामा चीनले आफ्नै स्वशासित क्षेत्र मान्दै आएको ताइवानविरुद्धको युद्धमा अमेरिकी सैनिकसँग कसरी सफलता हासिल गर्ला भन्ने प्रश्न उठेको छ। यसबाहेक पछिल्ला वर्षमा अर्थतन्त्र, बुढ्यौली जनसंख्या र स्थानीय सरकारको ठूलो क्रृण जस्ता चुनौतीसँग चीन जुधिरहेको छ। पश्चिमा राष्ट्रले प्रतिपादन गरेको उदार प्रजातन्त्रको विकल्प चिनियाँ राजनीतिक प्रणाली स्थायी र प्रभावकारी हुन्छ भनेर राष्ट्रपति सीले गर्दै आएको दाबीसमेत अहिले कमजोर बनेको छ।

जापानका लागि अमेरिकी राजदूत रहम इमान्युएलले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) मा चीन सरकारको वर्तमान अवस्थालाई उपन्यासकार अगाथा क्रिस्टिको उपन्यास ‘एन्ड देन देयर वेयर नन्’ सँग तुलना गर्न सकिने बताएका छन्। दुई दिनअघि रक्षामन्त्री ली बेपत्ता बनाइएको समाचार सार्वजनिक भएपछि इमान्युएलले लेखेका छन्, ‘सेक्सपियरले आफ्नो कृति ह्यामलेटमा भनेझैं डेनमार्कमा केही सडेको छ।’

-दी इकोनोमिस्ट

प्रकाशित: १ आश्विन २०८० ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App