२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

फाइल तस्बिर

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना अझै हराइरहेका छन्।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ। यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ।   बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ।

भारतीय वायु सेनाका डुङ्गा र हेलिकप्टरहरू कठिन भू–भागहरूमा प्रभावितहरूको उद्धारका लागि सेवामा खटिएका छन्। हिमाञ्चल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लू र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन्।

अहिलेसम्म करिब ३०० सडक र राजमार्गहरूको यातायात प्रभावित भएको छ।  एक सय वर्षभन्दा पुरानो सिमला–कालका रेल मार्गको लिक केही स्थानमा उखेलिएको छ, पुलहरू भत्किएका छन् भने ट्रान्सफर्मरहरू ढलेका वा बिग्रिएका छन्। धेरै खानेपानी परियोजनाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा राज्यको सामान्य जनजीवन अस्तव्यस्त भएको छ।

हिमाञ्चल राज्य सरकारी अधिकारीहरूले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसलपूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन्।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार राज्यलाई १०० अर्ब भारतीय रूपैयाँ (करिब १.२ अर्ब अमेरिकी डलर) बराबरको क्षति भएको थियो र प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तिमा एक वर्ष लाग्ने बताइएको छ।

प्रकाशित: ३१ श्रावण २०८० १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App