१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

राज्याभिषेक समारोहमा उपस्थित जनतालाई शनिबार बकिङघम प्यालेसको बाल्कोनीबाट अभिवादन गर्दै बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिला। तस्बिर: एएफपी

बेलायतका राजा चार्ल्स तृतीयले शनिबार आयोजित भव्य समारोहबीच राज्याभिषेक गरेका छन्। क्यान्टरबरीका आर्चबिसपले राजमुकुट अर्थात् सेन्ट एड्वर्ड्ज क्राउन पहिराएपछि चार्ल्स तृतीयले औपचारिक रूपमा बेलायतको राजगद्दी सम्हालेका छन्। चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौं शासक हुन्। यो राजमुकुट ७० वर्षअघि अर्थात् सन् १९५३ मा उनकी आमा महारानी एलिजाबेथले राज्याभिषेकमा पहिरिएकी थिइन्।

आर्चबिसपले ३६० वर्ष पुरानो उक्त ऐतिहासिक राजमुकुट राजाको शिरमा पहिराउँदै ‘ईश्वरले राजाको रक्षा गरुन्’ भनेका छन्। एक सय देशका राष्ट्रप्रमुखसहित विश्वका विभिन्न देशका २ हजार ३ सय विशिष्ट अतिथि सहभागी रहेको सो समारोहमा आर्चबिसपले रानी क्यामिलियालाई पनि ‘क्विन मेरिज क्राउन’ पहिराएका थिए। यो जर्ज पाँचौंको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो।  

सो राज्याभिषेक समारोह शनिबार लन्डनस्थित वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा चलेको थियो। राज्याभिषेक समारोहमा जाँदा र फर्कने क्रममा राज्याभिषेक यात्राको परेड हेर्न हजारौं सर्वसाधारण जम्मा भएका थिए र उनीहरूले राजा चाल्र्स र महारानीको अभिवादन गरेका थिए। राज्याभिषेकको परेड सहज रूपमा हेर्ने अनुकूल स्थान सुनिश्चित् गर्न सर्वसाधारण अघिल्लो रातदेखि नै कुरेर बसेका थिए।

बेलायतका राजा चार्ल्स तृतीयले शनिबार आयोजित भव्य समारोहबीच राज्याभिषेक गरेका छन्। क्यान्टरबरीका आर्चबिसपले राजमुकुट अर्थात् सेन्ट एड्वर्ड्ज क्राउन पहिराएपछि चार्ल्स तृतीयले औपचारिक रूपमा बेलायतको राजगद्दी सम्हालेका छन्।

वेस्टमिन्स्टर एबी आयोजित औपचारिक कार्यक्रम सम्पन्न भएपछि बेलायती राजपरिवार आठवटा घोडाहरूद्वारा तयार विशेष रथ ‘गोल्ड स्टेट कोच’मा बसेर बकिंघम दरबार फर्केको थियो। बकिंघम दरबार पुगेपछि बाल्कोनीबाट राजा चार्ल्स तथा महारानी क्यामिलियाले सर्वसाधारणलाई अभिवादन गरेका थिए। विश्वभरका हजारौं टिभी र इन्टरनेटमा राज्याभिषेक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।

राजतन्त्र विरोधीद्वारा प्रदर्शन

राज्याभिषेक समारोह सुरु हुनुअघि राजतन्त्रविरोधीहरूले केही स्थानमा प्रदर्शन गरेका थिए । साथै केही नेतालाई पक्राउ पनि गरिएको थियो। राज्याभिषेक समारोह सुरु हुनुभन्दा केही घण्टाअघि लन्डनको ट्रफलगार चोकमा ‘नट माई किङ’ लेखिएको प्लेकार्डसहितको समूहले प्रदर्शन गरेको थियो। रिपब्लिक नाम गरेको उक्त राजतन्त्रविरोधी समूहका नेता ग्राहम स्मिथसहित ६ जनालाई पक्राउ गरिएको र अर्काे सहर कार्डिफमा पनि ३ सय जनाले राजाविरोधी प्रदर्शन गरेको बिबिसीले जनाएको छ।

नेपालमा पनि कार्यक्रम

लन्डनको राज्याभिषेक भइरहँदा नेपालस्थित बेलायती राजदूतावासले पनि कार्यक्रम आयोजना गरेको थियो। बेलायती राजदूत निकोला पोलिटको निमन्त्रणामा भएको औपचारिक कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथि थिए। समारोहमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, राजनीतिज्ञलगायत व्यावसायिक समुदायका प्रतिनिधि रहेको राजदूतावासले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पोलिटले राज्याभिषेक संयुक्त अधिराज्यका लागि एक ऐतिहासिक अवसर रहेको बताइन्। 

प्रकाशित: २४ वैशाख २०८० ००:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App