१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती राज्याभिषेकको इतिहास

विश्व सन्दर्भ

बेलायतमा चार्ल्स तृतीयको राज्याभिषेकका अवसरमा उत्सव मनाउने तयारी गर्दै प्रशंसक। तस्बिर: एपी

आज शनिबार ६ मे २०२३ बेलायती राजा चार्ल्स तृतीयको गद्दी राज्याभिषेक समारोह हुँदै छ। यस समारोहमा सहभागी हुन संसारका विभिन्न देशहरूबाट राष्ट्रप्रमुख, सरकार प्रमुखहरू भेला हुँदै छन्। राजा चार्ल्सकी आमा एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत वर्षको सेप्टेम्बर ८ मा निधन हुँदा उनी बेलायतमै सबैभन्दा लामो समयसम्म राजकाज चलाउने रानीका रूपमा प्रख्यात रहिन्। २ जुन १९५३ मा रानीका रूपमा उनको राज्याभिषेक भएको थियो।

राजा वा रानीको राज्याभिषेक बेलायतको पुरानो परम्परा हो। सन् ९२५ बाट नै इतिहासमा यस्ता राज्याभिषेक समारोह अंकित छन्। त्यो बेला आङ्ला–स्याक्सन राजा एथेल्स्टानको राज्याभिषेक भएको थियो। उनी नै इंग्ल्यान्डका प्रथम राजाका रूपमा चर्चित छन्। त्यो बेला तेलले नुहाइदिएर उनको राज्याभिषेक गरिएको थियो।

सन् १०६६ मा राजा विलियम द कन्वेररलाई वेस्टमिनिस्टर एबेमा राज्याभिषेक भएयता प्रायः सबै राजा वा रानीको राज्याभिषेक कार्यक्रम त्यहीं सम्पन्न हुने गरेका छन्। हालका राजा चाल्र्स तृतीय यसरी वेस्टमिनिस्टर एबेमा राज्याभिषेक गरिने ४० औं राष्ट्रप्रमुख हुनेछन्। राजाले सो अवसरमा सन् १३८२ मा तयार पारिएको एक विशेष पदहरू वाचन गर्नेछन्, जसलाई लिबर रिगालिस भनिन्छ।

आज शनिबार मे २०२३ बेलायती राजा चार्ल्स तृतीयको गद्दी राज्याभिषेक समारोह हुँदै छ। यस समारोहमा सहभागी हुन संसारका विभिन्न देशहरूबाट राष्ट्रप्रमुख, सरकार प्रमुखहरू भेला हुँदै छन्।

सत्ता र शक्ति जो पनि चाहन्छ, त्यसैले त्यसलाई हत्याउन अनेकन् दाउपेच चलिरहन्छन् भन्ने उदाहरण इतिहासका पानामा छन्। यस्तोमा जबसम्म कुनै राजकुमार, राजकुमारी वा योग्य शासकको राज्याभिषेक हुँदैन, ऊ आधिकारिक रूपमा राजा वा रानी हुँदैन। कोही राजाकै छोरा वा छोरी भएका आधारमा मात्र गद्दी वा राज्याभिषेकको स्वतः अधिकारी हुँदैन भन्ने पुष्टि गर्न राज्याभिषेक जरुरी परेको हो।

बेलायती इतिहासमा दुई जना राजाहरू एडवार्ड पाँचौं ता एडवार्ड आठौं मात्र यस्ता दुई जना राजा बने, जसलाई राज्याभिषेक गरिएको थिएन। यीबाहेक अरू सबैको राज्याभिषेक सम्पन्न भएको थियो। राज्याभिषेकका बेला राजा चाल्र्सले प्रोटेस्टेन्ट राज्यका रूपमा आफूले आफ्ना जनताको रक्षा गर्ने शपथ लिन्छन्। यो शपथ सन् १६८८ मा लेखिएको थियो।

क्यान्टरबरी सहरका आर्कबिसप (धर्माधिकारी)लाई औपचारिक रूपमा नयाँ राजा वा रानीलाई चिनेको छ कि छैन भनेर सोधिन्छ। आर्कबिसपले आफूले चिनेको जानकारी गराएपछि समारोहले औपचारिकता पाउँछ। यदि आर्कबिसपले नयाँ बनेका राजा वा रानी नचिनेको घोषणा गरे भने नचिनेको व्यक्ति गद्दीको हकदार हुने छैन भन्ने विश्वास गरिन्छ। तर, आर्कबिसपले नयाँ राजा वा रानीले जनता र धर्मको रक्षा विश्वासका साथ चिन्छु भनेपछि राजा वा रानी हुने योग्यता पुग्छ। त्यसपछि आर्कबिसपले ‘पवित्र तेल’ले हात, टाउको र शरीरलाई अभिषेक गर्छ। यो तेल ईश्वरको आशीष्युक्त तेल हो भन्ने मानिन्छ।

सत्ता र शक्ति जो पनि चाहन्छ, त्यसैले त्यसलाई हत्याउन अनेकन् दाउपेच चलिरहन्छन् भन्ने उदाहरण इतिहासका पानामा छन्।

यस पटकको अभिषेकका लागि जेरुसेलमको होली सेपुल्क्र चर्चले विशेष विधिद्वारा बनाएको तेल ल्याइएको छ। यसपछि राजालाई राजदण्ड दिने, गद्दी आरोहण गराउने र ताज पहिर्‍याउने गरिन्छ। यसपछि साराका सारा शाही परिवार, आर्क बिसप र दरबारियाहरूले नयाँ राजा (वा रानी)का सामु झुकेर अभिवादन गर्छन्।

हजार वर्षदेखि चलिआएको यो परम्परामा केही अंश हटाउने र केही थप्नेजस्ता कामहरू भइरहन्छन्। राजा जेम्सका पालासम्म सारा समारोहमा ल्याटिन शब्दहरू प्रयोग गरिन्थे। राजा जेम्सले पहिलो पटक बाइबललाई अंग्रेजी भाषामा रूपान्तर गराएपछि ल्याटिनी भाषामा पढिने बाइबलका अंशहरूलाई अंग्रेजीमा नै वाचन गर्न थालियो। कहिलेकाहीं यी पंक्तिहरू पनि परिवर्तन गरिए।

राज्याभिषेकको रोचक पक्ष पहिले के थियो भने स्टुआर्टकालीन राजा वा रानीहरूलाई दुई पटक ‘क्राउन’ (मुकुट) लगाइन्थ्यो। स्कटल्यान्ड र इंग्ल्यान्ड दुवैका शासक भएकाले पहिले स्कटल्यान्डको र पछि इंग्ल्यान्डको शासकका रूपमा तिनलाई मुकुट लगाइन्थ्यो। यस्तै त्यो बेलाको शपथ र अहिलेको शपथमा पनि धेरै परिवर्तन आइसकेको छ। हरेक पटक शथपका विषयहरू परिवर्तन भइरहने गर्छन्।

राज्याभिषेकका बेला बस्ने कुर्सी पनि एउटा ऐतिहासिक कुर्सी हो। पहिले राजालाई बसालिने यस्तो कुर्सी ढुंगाको हुने गर्थ्याे। यो स्कटल्यान्डका शासकको प्राचीन बिम्ब हो। यो सन् १३०८ देखि प्रयोग गरियो। राज्याभिषेकका बेला एक विशेष गान गाइन्छ, जेडक द प्रिस्ट। यो जर्ज द्वितीयको बेला सन् १७२७ मा रचना गरिएको थियो। हान्डेल नामक संगीतज्ञले रचना गरेको यो गान त्यसबेलादेखि अद्यापि गाइन्छ।

हजार वर्षदेखि चलिआएको यो परम्परामा केही अंश हटाउने र केही थप्नेजस्ता कामहरू भइरहन्छन्। राजा जेम्सका पालासम्म सारा समारोहमा ल्याटिन शब्दहरू प्रयोग गरिन्थे।

राज्याभिषेकका बेला लगाइने मुकुट यो समारोहको सबैभन्दा आकर्षणको पक्ष हो। राजा आउनुअघि नै ‘स्वर्ड अफ स्टेट’ (राज्यको तरबार) ल्याइन्छ। योसँगै अन्य तीन वटा तरबार पनि यहाँ ल्याइएको हुन्छ। स्वर्ड अफ टेम्पोरल जस्टिस, द स्वर्ड अफ स्पिरिचुअल जस्टिस र स्वर्ड अफ मर्सी यस समारोहको साक्षीका रूपमा रहन्छन्।

राजा चाल्र्सले जुन मुकुट लगाउँछन्, त्यो मुकुट सेन्ट एडवार्ड मुकुटका रूपमा चिनिन्छ। यो लगभग साढे दुई केजी बराबरको हुन्छ। यसमा ४४४ वटा मूल्यवान् स्टोनहरू टाँसिएका हुन्छन्। यो मुकुट पहिला सन् १६६० को दशकमा परिवर्तन गरिएको थियो।

एडवार्ड द कन्फेसर नामक राजाका पालामा मुकुटलाई आधुनिक स्वरूप दिइएको थियो। पछि ओलिभर क्रमवेल प्रधानमन्त्री भएका बेलामा मुकुटलाई गालिएको थियो। खासमा क्रमवेलले मुकुट गाल्नुको मुख्य कारण चाहिँ त्यो बेलाका राजाको शासनकाल साह्रै खराब भएको र जनतालाई दुःख दिएकाले हो। यो मुकुटले दुष्ट राजाको सम्झना दिलाउने भन्दै उनले मुकुटलाई आगोमा झोसे र मुकुटको वास्तविक स्वरूप नै बिगारियो।

पछि फेरि यसलाई नयाँ स्वरूपमा बनाइएको हो। राजा चाल्र्सले लगाउने मुकुट नै त्यसपछि बनाइएको मुकुट हो। समय क्रममा यो मुकुटमा नयाँ नयाँ मूल्यवान् धातुहरू जडान गरियो र संसारकै महँगो मुकुटका रूपमा प्रचलित रह्यो।

राजाको राज्याभिषेकको सारा कार्यको जिम्मेवारी हुन त डिजिटल, संस्कृति, सञ्चार, खेलकुद मन्त्रालयको हो। सारा खर्च उसैले बेहोर्छ। सन् १६७२ देखि नै यो कार्यको सारा व्यवस्थापन ड्युक अफ नर्फोकलाई जिम्मा लगाइन्छ। यसपालाको व्यवस्थापन पनि ड्यक अफ नर्फोक एडवार्ड फिजलन होवार्डले गरेका छन्।

राजा चाल्र्सले जुन मुकुट लगाउँछन्, त्यो मुकुट सेन्ट एडवार्ड मुकुटका रूपमा चिनिन्छ। यो लगभग साढे दुई केजी बराबरको हुन्छ। यसमा ४४४ वटा मूल्यवान् स्टोनहरू टाँसिएका हुन्छन्। यो मुकुट पहिला सन् १६६० को दशकमा परिवर्तन गरिएको थियो।

खासमा राज्याभिषेक तीन घण्टे लामो कार्यक्रम हुन्छ तर यसपाला ९० मिनेटभन्दा कममा सक्ने योजना छ। संसारभरबाट २ हजार बढी पाहुना भेला भएका छन्।

महारानी एलिजाबेथ द्वितीयाका पालामा त झन् संसारभरबाट आठ हजार पाहुना निम्त्याइएका थिए। यो कार्यक्रममा जवानहरूको बाहुल्य हुनेछ। त्यस्तै विभिन्न जातजाति, रंग र समुदायका मानिसहरूले यो कार्यक्रमलाई सुसज्जित बनाउने छन्। रोचक चाहिँ, महिला बिसपले पनि कार्यक्रम सञ्चालन गर्नेछन्।

यी सारा कुरामध्ये सबैभन्दा रोचक चाहिँ यसपाला गणतन्त्रका पक्षधरहरूले भने राजाको राज्याभिषेक हुँदै गर्दा प्रदर्शन गर्ने भएका छन्।

महारानी एलिजाबेथ द्वितीयाका पालामा त झन् संसारभरबाट आठ हजार पाहुना निम्त्याइएका थिए। यो कार्यक्रममा जवानहरूको बाहुल्य हुनेछ।

राजा चाल्र्सको यो भव्य समारोहपछि उनकी आमा महारानी एलिजाबेथको राज्याभिषेक कस्तो थियो भन्ने पनि उत्तिकै चर्चा हुने गर्छ। र, त्यसको तुलनामा यो राज्याभिषेक खल्लो हुने धेरैको टिप्पणी छ। कारण, त्यो बेला बेलायतका विभिन्न भागबाट महारानीको राज्याभिषेकमा सहभागी हुन ३० लाखभन्दा बढी मानिसहरू लन्डन छिरेका थिए। ठाउँठाउँमा भोजभतेर लगाइएको थियो। पानी परेर हिलाम्य भए पनि र कतिपय ठाउँमा हिउँ नै परे पनि त्यसको वास्ता नगरी २७ वर्षीया महारानीप्रति सम्मान जनाउन उनीहरू उपस्थित भएका थिए।

(विभिन्न मिडियामा आधारित)

प्रकाशित: २३ वैशाख २०८० ०१:२८ शनिबार

बेलायती राज्याभिषेकको इतिहास विश्व सन्दर्भ