वासिङ्गटन-संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन् । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गरेका हुन् ।
अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन् ।
पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्याएको जनाइएको छ ।
उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ ।
त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुईवटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ ।
अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् ।
अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो ।
इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो । रासस-सिन्ह्वा
प्रकाशित: १५ पुस २०७३ ०८:१८ शुक्रबार