१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले वृद्धि

इभेन्स सानोन

विश्वभर सन् २०२१ को तुलनामा सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले बढेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ले मंगलबार सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सो वर्ष विश्वका ६७ पत्रकारको हत्या भएको छ।  

युक्रेन, मेक्सिको र हैटीमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ। यी देशका पत्रकारहरूले बढ्दो खतराका कारण अत्यधिक तनावमा काम गर्नुपरेको बताएका छन्।

कुल जनसंख्या १ करोड २० लाख रहेको हैटीमा सन् २०२२ मा मात्र सात पत्रकारको हत्या भएको थियो। कतिपयको मृत्यु हिंस्रक समूहले गरेको सडक दंगामा भएको थियो भने दुईजनाको प्रहरीको गोलीद्वारा भएको थियो।  

सडक दंगाबारे रिपोर्टिङ गर्दै आएका रेडियो कराइबेसका पत्रकार म्याकेन्सन रेमीले पत्रकारले कसलाई विश्वास गर्ने भन्ने संकट रहेको बताए।  

‘हैटीमा समाचार संकलन अत्यन्त कठिन छ र विशेष गरी राजधानीमा यो झन् कठिन छ,’ उनले भने, ‘भ्रष्टाचार व्यापक स्तरमा रहेकाले कसैलाई पनि विश्वास गर्न सक्ने अवस्था छैन।’ सहरका विभिन्न सडकखण्डमा ड्राइभिङ गर्दा समेत कसैले आफूलाई निगरानी गरिरहेको अनुभूति हुने गरेको बताउँदै उनले यो परिवेश सन् १९९८ मा बनेको सिनेमा ‘ट्रुम्यान सो’मा चित्रण गरेजस्तै रहेको भनेर तुलना गरे।  

हत्या भएका ६७ मध्ये ३५ पत्रकार युक्रेन, मेक्सिको र हैटीका मात्र रहेका सिपिजेले बताएको छ। यसमध्ये १३ जना मेक्सिकोका पत्रकार छन्। अरू सञ्चार समूहले मृतकको संख्या १५ रहेको उल्लेख गरेका छन्। विगत तीन दशकयता सन् २०२२ मा मेक्सिकोका पत्रकारका लागि सबैभन्दा भयपूर्ण वर्ष रह्यो। युद्ध जारी रहेको युक्रेनमा गत वर्ष मात्रै १५ पत्रकार मारिएका छन्। सिपिजेले ६७ मध्ये ४१ को मृत्यु पत्रकारितासँग प्रत्यक्ष सम्बन्धित रहेको र अन्य २६ मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताएको छ। युक्रेन युद्धको विषयमा रिपोर्टिङ गरिरहेका पत्रकारहरू सबैभन्दा बढी जोखिममा रहेको सिपिजेको भनाइ छ।

मेक्सिकोमा लागुपदार्थका विभिन्न गिरोहले गर्ने हिंसा, स्थानीय राजनीतिक भ्रष्टाचार र हत्यारालाई दण्डहीनताका कारण पत्रकार हिंसाको कारक रहेको प्रतिवेदनको ठहर छ। मेक्सिकोको उत्तरी सहर टियुनामा रहेको इक्वाना ३२ नामक वेबसाइटका पत्रकार सोनिया डे अन्डाका अनुसार सन् २०२२ को जनवरीमा एक साताको फरकमा दुई पत्रकारको हत्या भएको थियो। उनले उक्त घटनापछि पत्रकारले प्रहरी सुरक्षा चाहेको र आफ्नो काम गर्ने समयसारिणिलाई परिवर्तन गरेको बताइन्। ‘पत्रकारिताको प्रकृति समग्र रूपमा फेरिएको छ। कुनै पत्रकार जोखिमयुक्त स्थानमा जाँदा अन्य साथीलाई भनेर मात्र जाने गरेका छन्,’ उनले भने।

रिपोर्टिङ गर्ने क्रममा प्रहरी सुरक्षाको अनुरोध गर्ने क्रममा पनि व्यापक बढोत्तरी भएको उनको कथन छ। सन् २०२२ को जनवरी १७ मा अपराध फोटोग्राफर मार्गारिटा मार्टिनेजलाई उनकै घरअगाडि गोली हानेर हत्या गरिएको थियो। उक्त घटनाको पाँच दिनपछि अर्का पत्रकार माल्डोनाडो लोपेजलाई आफ्नै कारभित्र गोली हानी हत्या गरिएको थियो। लागु पदार्थ कारोबार गर्ने समूहले एक बन्दुकधारीलाई उनको हत्या गर्न १ हजार अमेरिकी डलर दिएको अनुसन्धानमा खुलेको थियो।

प्रहरीले बन्दुुकधारीलाई पक्राउ गरे पनि गोली चलाउन निर्देशन दिने समूहका प्रमुखलाई पक्राउ नगरेको सिपिजेको भनाइ छ। ‘यो घटनाले १ हजार अमेरिकी डलरमा जोकसैले अन्यको हत्या गर्न सक्छ भन्ने सन्देश दिएको छ,’ सिपिजेले प्रतिवेदनमा भनेको छ। यसबाहेक सन् २०२२ मा फिलिपिन्समा चार पत्रकारको हत्या भएको छ भने कोलम्बिया, ब्राजिल र होन्डुरसमा दुईदुईजना पत्रकारको हत्या भएको छ। यसैगरी दुईजना पत्रकारका हत्या भएका अन्य देशमा बंगालादेश, भारत, मियान्मा, सोमालिय र चाड छन्। अमेरिकाका लस भेगास रिभ्यु जर्नलमा कार्यरत पत्रकार जेभ जर्मनमा गत वर्षको सेप्टेम्बर २ तारिखमा हत्या भएको थियो। लस भेगास क्षेत्रका निर्वाचित एक जनप्रतिनिधिबारे जेभ जर्मनले समाचार लेखेका थिए। ती निर्वाचित प्रतिनिधिले उक्त हत्यामा आफू संलग्न नभएको जिकिर गरेका छन्।

प्रकाशित: १२ माघ २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App