८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा कोरोना संक्रमण तीव्र

यो साताको अन्त्यसम्म सांघाईको २ करोड ५० लाख जनसंख्यामध्ये आधालाई कोभिड–१९ संक्रमण हुने आकलन गर्दै त्यहाँको एक अस्पतालले आफ्ना कर्मचारीलाई महामारीविरुद्धको लडाइँका लागि तयार रहन निर्देश गरेको छ। हाल चीनका अधिकांश सहरमा कोराना संक्रमण तीव्र भइरहको छ।

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो। यसबाट १ अर्ब ४० करोड जनसंख्या भएको चीनलाई ठुलो वित्तीय तथा मनौवैज्ञानिक प्रभाव परेको छ। चीनको सरकारी तथ्यांकअनुसार तीन वर्षअघि सुरु भएको कोरोना महामारीका कारण हालसम्म ५ हजार २ सय ४१ जनाको मृत्यु भएको छ।

महामारीको पछिल्लो लहरका कारण मृत्युको आकडा अझै बढ्न सक्ने देखिएको छ। पछिल्ला दुई दिन कोभिडका कारण कुनै मृत्यु नभएको चीन सरकारले बुधबार जनाएको छ। समाधिस्थलका कर्मचारीले पछिल्ला सातामा आफूहरूको सेवाको माग ह्वात्तै बढेको बताएका छन्। चीनले हाल ३ लाख ८९ हजारजना कोरोनका सक्रिय संक्रमित रहेको जनाएको छ। तर कोरोना महामारीविरुद्धको सख्त प्रावधान खुकुलो भएयता भाइरस परीक्षण दर अत्यन्त न्यून छ। कोरोना महामारीका कारण चीनमा हरेक दिन ५ हजार जनाको मृत्यु हुने र १० लाख संक्रमित हुने बेलायतको एयरफिनिटी नामक हेल्थ डाटा फर्मले हालै आकलन गरेको छ। उक्त फर्मले चीनका विभिन्न प्रान्तबाट प्राप्त तथ्यांकका आधारमा यो आकलन गरेको जनाएको छ। बेइजिङ र गुआङडोङमा कोरोना भाइरस संक्रमण उच्च गतिमा छ।

सांघाईस्थित सांघाई डेजी अस्पतालले सहरका ५४ लाख मानिस संक्रमित भएको आकलन बुधबार गरेको छ। अस्पतालले आफ्नो सामाजिक सञ्जाल विच्याटमा यो कुरा राखेको छ। अस्पतालले यो वर्षको अन्त्यसम्म १ करोड २५ लाख जनामा भाइरस संक्रमण हुने अनुमान गरेको छ। ‘यो वर्षको क्रिसमस इभ, अंग्रेजी नयाँ वर्ष र चिनियाँ नयाँ वर्ष अत्यन्त असुरक्षित हुने देखिएको छ,’ ४ सयजना कार्यरत उक्त अस्पतालले भनेको छ। 

प्रकाशित: ८ पुस २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App