मेक्सिको सिटी– सुदूर दक्षिण अमेरिकी वा क्यारेबियन राष्ट्रका नामले विश्वमा परिचित हैटीमा आगामी अक्टोबर नौ तारेखका दिन हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा दुई दर्जनभन्दा बढी उम्मेदवारले उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ताका लागि बुधबार मध्यरातसम्म अन्तिम म्याद तोकिएकोमा यस समयावधिमा यस सङ्ख्या अझै नाघ्न सक्ने हैटीको सञ्चार माध्यमहरुले अनुमान गर्दै बुधबार दिउँसो उक्त जानकारी दिएका हुन् ।
यसअघि भएको राष्ट्रपति निर्वाचनमा अधिक मत प्राप्त गरेका उम्मेदवारहरु जुभिनेल म्वाइस, जुडि सेलेस्टिनलगायत चार जनाले आफ्ना नाम भने पहिल्यै दर्ता गराइसकेका छन् ।
त्यतिबेला निर्वाचन भएको भएपनि धाँधली गरेको आरोप लागेपछि राष्ट्रपतिको नाम घोषणा हुन पाएको थिएन ।
गत फेब्रुअरीमा हैटीका सांसदहरुले राष्ट्रिय सभाका अध्यक्ष जोसेलर्मे प्रिभर्टलाई चार महिनाका लागि मुलुकको कामचलाउ राष्ट्रपतिका रुपमा निर्वाचित गरेका थिए । हाल मुलुक औपचारिक राष्ट्रपतिबिहीनताको अवस्थाबाट चलिरहेको छ ।
सफा प्रजातान्त्रिक अभ्यासद्वारा निर्वाचित प्रथम राष्ट्रपति जिन बट्र्रान्ड अरिस्टाइडलाई अमेरिका समर्थित सैनिक बिद्रोहीले सन् २००४ मा अपदस्थ गरेयता मुलुकले चरम राजनीतिक अस्थिरता भोगिरहेको छ ।
प्रकाशित: १० असार २०७३ ०३:०७ शुक्रबार