स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला स्वस्थ राख्न विभिन्न उपाय सुझाएको छ।
आज विश्व मिर्गौला दिवसको सन्दर्भ पारेर मन्त्रालयले मिगौंला जोगाउने उपाय सुझाएको हो। मन्त्रालयका अनुसार मिर्गौला जोगाउन मधुमेह र रक्तचाप नियमित जाँच गरी नियन्त्रणमा राख्नुपर्छ।
यस्तै सन्तुलित आहार खाने, दैनिक व्यायाम गर्ने र स्वस्थ शारीरिक तौल कायम गरे पनि मिर्गौला जोगाउन सकिन्छ। धूम्रपान र मदिरा सेवन नगर्ने, दिनमा कम्तीमा आठ गिलास पानी पिउने र नुनको प्रयोग कम गर्नाले पनि मिर्गौलामा समस्या आउँनबाट रोक्न सकिन्छ।
चिकित्सकको सल्लाह बिना औषधि नखाने र पिसाबमा समस्या वा खुट्टा र आँखाको वरिपरि सुन्निने लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले सुझाव दिएको छ।
विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मिर्गौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि मनाउन थालिएको छ।
दिवसका लागि यस वर्षको नारा 'सबैका लागि स्वस्थ्य मिर्गौला”' भन्ने तय गरिएको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङक छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मिर्गौला सम्बन्धी रोग भएको अनुमान गरिएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १२:१५ बिहीबार





